केही दिनयता परिरहेको लगातार वर्षाका कारण सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आकस्मिक बाढी आउने सम्भावना देखिएको छ। नेपाल बाढी सूचनाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।
सूचनाका अनुसार यी जिल्लाबाट बहने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य रूपमा बढ्न सक्छ। जोखिम देखिएका जिल्ला यी हुन् :
दार्चुला
बझाङ
बैतडी
डोटी
डडेल्धुरा
बाँके
बर्दिया
कैलाली
कञ्चनपुर
यी जिल्ला तथा आसपासका क्षेत्रबाट बहने खोलानालामा पानीको सतह बढ्ने सम्भावना रहेकाले नदी तथा खोला आसपासका बस्तीमा बसोबास गर्ने र त्यस क्षेत्रबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ।
जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानमा बस्न पनि सूचनाले आग्रह गरेको छ।







