युक्रेनको राजधानी किभमा रुसले रातभर ठूलो परिमाणमा मिसाइल तथा ड्रोन प्रहार गर्दा कम्तीमा नौ जनाको ज्यान गएको छ । आक्रमणमा सहरका पुल र रेलवे स्टेसन लक्षित बनेका थिए भने ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई युद्ध सुरु भएयताका सबैभन्दा ठूला आक्रमणमध्ये एक भएको बताएका छन् । उनका अनुसार रुसले एकै रातमा एक सय दसमन्दभन्दा बढी क्षेप्यास्त्र र चार सयभन्दा बढी ड्रोन प्रहार गरेको थियो ।
आक्रमण केवल राजधानीमा सीमित रहेन, देशका विभिन्न सहर र क्षेत्रमा पनि प्रहार भएको जेलेन्स्कीले जानकारी दिएका छन् । आवासीय भवन तथा ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाइएको थियो । रातभर हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो र बिहानसम्म पनि साइरन बजिरहेका थिए ।
रुसले करिब बीसदेखि तीस मिनेटको फरकमा पटक-पटक आक्रमण गरेको राष्ट्रपतिको भनाइ छ । उनले यसलाई निकै खतरनाक रणनीति भनेका छन्, जसका कारण आगो निभाउने, भग्नावशेष हटाउने र अत्यावश्यक सेवा पुनः सञ्चालन गर्ने काम थप जटिल बनेको छ ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया पुलमा भएको आक्रमणको बदला लिने चेतावनी दिएका थिए । उक्त पुल क्राइमिया प्रायद्वीपलाई रुसको मुख्य भूभागसँग जोड्न रुसले निर्माण गरेको हो ।
पछिल्लो आक्रमण यस्तो बेला भएको छ, जतिबेला युद्ध अन्त्य गर्ने विषयमा विभिन्न तहमा वार्ता भइरहेको छ । यसैबीच युक्रेनलाई पश्चिमा मुलुकको समर्थनमा सुरक्षा प्रत्याभूति दिने विषयमा रुस सहमत हुन सक्ने अमेरिकी दाबीलाई मस्कोले अस्वीकार गरेको छ ।







