राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संस्थागत रूपमै अन्त्य गर्ने सुनियोजित षड्यन्त्र भइरहेको दाबी गरेका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस विषयमा सरकारका प्रमुख व्यक्तिहरू मौन रहेको टिप्पणी गरेका छन्।
उनका अनुसार नेपाल प्रहरीको मुख्य नेतृत्वमाथि सरकारी दलका सांसदहरूले निराधार आरोप लगाएर आक्रमण गरिरहेका छन्। त्यसो हुँदा पनि गृहमन्त्री र पार्टी सभापतिले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। प्रहरी संगठनको सर्वोच्च नेतृत्वमाथि यसरी आरोप लागिरहँदा जिम्मेवार निकाय मौन बस्नुले संगठनमाथि नै अन्योल सिर्जना गरेको उनको भनाइ छ।
खनालले सशस्त्र प्रहरी बलको माथिल्लो वरीयताको नेतृत्वदायी पदमा रहेका एक अतिरिक्त महानिरीक्षक (एआईजी) प्रति पनि लक्षित आक्रमण भइरहेको औंल्याएका छन्। ३० वर्षसम्म अनवरत सेवा गरेका त्यस्ता अधिकृतमाथि गृहमन्त्री स्वयं आधारहीन व्यक्तिगत प्रतिशोधको मनस्थितिमा रहेको उनले बताएका छन्।
प्रहरी संगठनप्रति देखाइएको यस्तो व्यवहारलाई सामान्य मान्न नहुने उनको भनाइ छ। यसले मुलुक संस्थागत शून्यतातर्फ धकेलिइरहेको र संस्थाहरूको चरित्र व्यक्तिगत सनकको सिकार बन्दै गएको उनले उल्लेख गरेका छन्।







