मुख्य सामग्रीमा जानुहोस्

पोखराबाट भारतीय सहरमा सिधा उडान र थप हवाइ रुटका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

पोखरा उद्योग वाणिज्य संघले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र पठाएको छ। संघले पोखरा–भैरहवा द्रुतमार्ग र पोखराबाट भारतीय सहरमा सिधा उडानको विषय भ्रमणको एजेन्डामा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
पोखराबाट भारतीय सहरमा सिधा उडान र थप हवाइ रुटका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
Nagariknetwork

पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान हुने वातावरण बनाउन तथा नेपालका लागि थप हवाइ रुट सुनिश्चित गर्न आवश्यक पहल गरिदिन सरकारसँग आग्रह गरेको छ।

संघले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र पठाउँदै यी विषय भ्रमणको एजेन्डामा प्राथमिकताका साथ समेट्न अनुरोध गरेको हो। अध्यक्ष शोभा गौतमको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तयार पारेको उक्त पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा सञ्चालनका लागि संघले लामो समयदेखि गरेको पैरवी र आन्दोलनको स्मरण पनि गराइएको छ।

सिधा उडानको अड्चन

छोटो दूरीको र इन्धन कम खपत हुने हवाइ मार्ग उपलब्ध नहुँदा पोखराबाट भारतको वाराणसी, दिल्लीलगायत सहरमा सिधा उडान हुन सकेको छैन। जहाजले फेरो घुमेर अवतरण गर्नुपर्ने बाध्यता रहेको संघको भनाइ छ। सजिलो हवाइ मार्गको अनुमति प्राप्त हुन नसकिँदा वायुसेवा कम्पनीहरूलाई पनि पोखरातर्फ आकर्षित गर्न सकिएको छैन।

धानाकर्षण पत्रमा भ्रमणका क्रममा देशको आर्थिक हित, द्विपक्षीय व्यापार, ऊर्जा, पारवहन तथा थप हवाइ रुटबारे विभिन्न सहमति हुने जानकारी आफूहरूले पाएको उल्लेख छ। पोखरा–भैरहवा द्रुतमार्ग निर्माण र पोखरा विमानस्थलबाट भारतीय सहरमा सिधा उडानको विषय एजेन्डामा समावेश भएकोमा संघले खुसी व्यक्त गर्दै यी विषयमा मित्रराष्ट्र भारतले सदाशयता देखाउने विश्वास जनाएको छ।

हवाइ रुट प्राप्त भएपछि भारतीय सहरमा सिधा उडान गर्न र ती सहरबाट पोखरामा पर्यटक भित्र्याउन आवश्यक पहल गर्न पनि संघले सुझाएको छ। त्यसका लागि उद्योग वाणिज्य महासंघमार्फत भारतको निजी क्षेत्रसँग समन्वय अघि बढाउन पत्रमा आग्रह गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्दा विभिन्न शंका र आशंका बाहिर आइरहेको पनि संघको भनाइ छ। विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा राखिएको र त्यसको दिगो सञ्चालनले समग्र गण्डकीको समृद्धिमा टेवा पुग्ने विश्वास संघले व्यक्त गरेको छ।

हवाइ रुट प्राप्ति र द्रुतमार्ग निर्माणसँगै आफ्नो सपना पूरा हुनेमा संघ विश्वस्त रहेको पत्रमा उल्लेख छ।