दोलखा र रामेछापको सिमानामा समुद्र सतहदेखि ३ हजार १५० मिटर उचाइमा अवस्थित सैलुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण चुचुरो हो । तामाङ भाषामा ‘सै’ को अर्थ सय र ‘लुङ’ को अर्थ थुम्का बुझिन्छ । त्यही भाषिक अर्थअनुसार सयवटा थुम्का मिलेर बनेको रमणीय भूभागका रूपमा सैलुङ चिनिन्छ ।
सैलुङको अगाडि गौरीशंकर हिमाल अटल भएर उभिएको देखिन्छ, जसले यहाँको आकर्षण थप बढाएको छ । नजिकै रहेको धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोकले पनि सैलुङको महत्त्व उचाल्ने काम गरेको छ । बिहान झुल्के घाम र बेलुका अस्ताउँदो सूर्यको किरण गणेश तथा लाङटाङलगायत हिमशृङ्खलामा पर्दा त्यसको छटा अझै मनमोहक बन्छ ।
यहाँ आउने पर्यटक सैलुङको पृष्ठभूमिमा उभिएर सेल्फी खिच्न रुचाउँछन् । प्रकृतिको यो रमणीयतालाई क्यामेरामा कैद गर्दा लोभ्याउने दृश्य बन्ने गरेको छ ।
मौसमसँगै फेरिने रूप
सैलुङको स्वरूप ऋतुअनुसार परिवर्तन हुँदै जान्छ । हिउँ पर्दा यो सेताम्मे भएर ढकमक्क देखिन्छ, भने वर्षायाममा हरियो घाँसे मैदान र वनस्पतिले यसको सुन्दरता अझै बढाउँछ । छिनछिनमा बदलिने मौसम, बादलसँग लुकामारी गर्ने डाँडाकाँडा, बिहानको सूर्योदय र साँझको सूर्यास्तले सैलुङसँगको आत्मीयता गाढा बनाइदिन्छ ।
टाढाबाट हेर्दा जति सुन्दर देखिन्छ, नजिक पुग्दा त्यसको गहिराइ अझ बढी महसुस हुन्छ । खुला आकाशमुनि फैलिएका हरिया चौर, चिसो हावा, डाँडामाथि टाँसिएझैँ देखिने बादल र वरिपरिको हिमाल तथा पहाडको दृश्यले मनलाई केही समयका लागि भए पनि दैनिक व्यस्तताबाट टाढा पुर्याउँछ । यही कारण प्रकृतिले मानिसलाई फुरुङ्ग पार्ने र खुसी दिने उत्प्रेरक सैलुङमा रहेको अनुभूति यहाँ पुग्ने पर्यटक गर्छन् ।
दुईतर्फबाट यात्रा
सैलुङ पुग्न दोलखा र रामेछाप दुवैतर्फबाट बाटो प्रयोग गर्न सकिन्छ । रामेछापतर्फबाट जाँदा चर्चित स्थान दोरम्बा हुँदै उकालो लाग्नुपर्छ । दोरम्बाबाट अघि बढ्दा सिधै सैलुङको चुचुरोमा पुगिन्छ । त्यसपछि तल झरेर अन्य थुम्का तथा धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ ।







