चालु वर्षको साउनदेखि कात्तिकसम्मको चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ पर्यटक मुस्ताङ भित्रिएका छन्। राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङतर्फबाट आउने यी पर्यटकको विवरण जिल्ला प्रहरी कार्यालयले अभिलेख गरेको हो।
प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा दुई हजार ८४१ स्वदेशी र पाँच हजार २२३ विदेशी पर्यटकले थोरङ्ला पास भएर मुस्ताङ प्रवेश गरेका छन्। स्वदेशी पदयात्रीमा दुई हजार ८०८ पुरुष र ३३ महिला रहेका छन्। विदेशीतर्फ तीन हजार ५७ पुरुष र दुई हजार १६६ महिला रहेको विवरणमा उल्लेख छ।
महिनागत हेर्दा साउनमा १३३, भदौमा ३९९, असोजमा एक हजार ३६८ र कात्तिकमा छ हजार १६४ पर्यटकले पदयात्रा गरी मुस्ताङ प्रवेश गरेका छन्। कात्तिक महिनामा मौसम अनुकूल रहेकाले चार महिनाको अनुपातमा सबैभन्दा बढी पर्यटक सोही महिना भित्रिएको प्रहरी विवरणले देखाउँछ।
हिमपातले पदमार्ग अवरुद्ध
असोज ११ गते थोरङ्ला पास क्षेत्रमा भारी हिमपात हुँदा पदमार्ग दुई साताभन्दा बढी अवरुद्ध भएको थियो। त्यसकारण सो अवधिमा अपेक्षा गरिएभन्दा निकै कम पर्यटक मुस्ताङ भित्रिएका थिए। पदयात्राका लागि अनुकूल समयमा नै बेमौसमी हिमपात हुँदा मनाङबाट मुस्ताङतर्फ आउने पर्यटकको आवागमन रोकिएको थियो।
अवरुद्ध पदमार्ग सहज बनाउन मुस्ताङ र मनाङका पर्यटन व्यवसायी, सुरक्षाकर्मी तथा सरोकारवालाले हिउँ पन्छाएका थिए।
पदमार्गको स्वरूप
राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने यो बाटो लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ हुँदै समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइको थोरङ्ला पास कटेर मुस्ताङको मुक्तिनाथसम्म पुग्छ। यो मार्ग साहसिक पदयात्राका रूपमा परिचित छ, जहाँ विदेशी पर्यटक जोखिमयुक्त यात्रा गर्दै मुस्ताङ भित्रिने गर्छन्। पदयात्रीले विश्वकै उच्च हिमाली पदमार्गमध्येको अन्नपूर्ण हिमाल तथा आसपासका हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन्।
यो पदमार्गमा वर्षभरि दुई सिजन गरी करिब पाँच महिना मात्र पदयात्रा हुने गर्छ। हिउँद अघि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा थोरङ्ला पास भएर पर्यटकको चहलपहल बढी हुन्छ। हिउँदपछि भने अप्रिल, मे र जुनमा विदेशी पर्यटकले थोरङ्ला पास गरी मुस्ताङतर्फ यात्रा गर्ने गरेको विवरणमा उल्लेख छ।







