राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग जोडिएको विषयमा प्रारम्भिक छानबिन सुरु गरेको छ । आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका सामग्रीका आधारमा आयोगले प्रक्रिया अगाडि बढाएको हो ।
भट्टराईले अनलाइनखबरका लिलु डुम्रेसँगको कुराकानीमा ती सामग्रीको सत्यता जाँच्ने काम भइरहेको बताए । सार्वजनिक भएका विषयलाई मात्र आधार मानेर निष्कर्ष सुनाउन नमिल्ने उनको भनाइ छ । केहीले उक्त सामग्री कृत्रिम बुद्धिमत्ताबाट तयार पारिएको हुन सक्ने आशंका पनि व्यक्त गरेको उल्लेख गर्दै उनले वास्तविक के हो र के होइन भन्ने कुरा प्रमाणका आधारमा छुट्याउनुपर्ने बताए ।
प्राकृतिक न्यायका दृष्टिले पनि आरोप लागेको व्यक्तिलाई नसोधी अगाडि बढ्न नहुने उनको भनाइ छ । त्यसैले आयोगले सुनार र आरोप लगाउने महिला दुवैसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।
उजुरी नपरे पनि छानबिन
आयोग उपप्रमुख भट्टराईका अनुसार अहिलेसम्म औपचारिक उजुरी भने परेको छैन । उजुरी नआए पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयले आयोगको ध्यानाकर्षण गराएको उनले जनाए । आरोप गम्भीर भएकाले त्यसलाई हल्का रूपमा नलिने उनको भनाइ छ ।
आरोपित व्यक्तिसँग सम्पर्क गर्ने विषयमा केही व्यावहारिक अवरोध रहेको भट्टराईले बताए । सुनार पार्टीको ‘हामी आउँदैछौं’ कार्यक्रमका सिलसिलामा बाहिर रहेको र चाडपर्व पनि परेको हुनाले तत्काल भेट्न कठिन भइरहेको उनले उल्लेख गरे । संसद बैठक चलिरहेको अवस्थामा औपचारिक रूपमा भेट्न सहज हुने भए पनि अहिले त्यस्तो स्थिति नरहेको उनको भनाइ छ । सकेसम्म चाँडो उहाँलाई भेटेर उहाँका कुरा सुन्ने प्रयास भइरहेको छ ।
दुवै पक्षको भनाइ आवश्यक
आयोगले यो विषयमा प्रारम्भिक रूपमा केही कुरा बुझिसकेको भट्टराईले बताए । तर निश्चित निष्कर्षमा पुग्नका लागि प्रमाणको सत्यापनसँगै दुवै पक्षको भनाइ सुन्नु अनिवार्य रहेको उनको भनाइ छ । अदालतमा वादी र प्रतिवादी दुवैको कुरा सुनेर विषय बुझ्ने परिपाटी भएजस्तै यहाँ पनि दुवै पक्षको कुरा सुन्न पाउँदा निर्णय गर्न सहज हुने उनले बताए ।
एक पक्ष मात्र सुन्ने हो भने अनुसन्धान एकपक्षीय हुन सक्ने र वास्तविकता बुझ्न कठिन हुने उनको भनाइ छ । पीडित भनिएकी महिला आयोगको सम्पर्कमा आएमा उजुरी मागिने र कागजात भएमा तथ्य पुष्टि गर्न सजिलो हुने उनले जनाए । सञ्चारमाध्यमले पनि विषय उठाइदिएमा आयोगलाई सहयोग पुग्ने उनको भनाइ छ ।
भट्टराईका अनुसार पार्टीले दुई वटा कुरा सार्वजनिक गरिसकेको छ । यस्तोखालको पीडा भोगेको भए पीडित पक्ष राज्यको निकायमा तत्काल जानुपर्ने र पार्टीले सहयोग गर्ने पहिलो कुरा हो । दोस्रो, पीडित पक्ष पार्टीको आन्तरिक च्यानलमा पनि आउन सक्ने उनले बताए । पीडित पक्ष राज्यको निकायमा गएमा आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।
आरोप सत्य ठहरिए अत्यन्त आपत्तिजनक हुने र व्यक्तिको प्रतिष्ठामाथि गम्भीर असर पर्ने भट्टराईले बताए । आरोप असत्य भए पनि महिलाको चरित्रहत्या हुने र जिउज्यानसँग जोडिएका कुरा पनि उठेकाले यसलाई कुनै पनि हालतमा शोभनीय मान्न नहुने उनको भनाइ छ ।
आयोगले सकेसम्म छिटो निष्कर्ष निकाल्ने प्रयास गर्ने भए पनि प्रमाण नबुझी बोल्न नमिल्ने उनले स्पष्ट पारे । कति छिटो सम्पर्क स्थापित हुन्छ भन्ने कुराले पनि समय निर्धारण गर्ने उनले जनाए । चाडपर्व र बिदाका कारण केही व्यावहारिक कठिनाइ हुन सक्ने उनको भनाइ छ ।
कतिपय कसुरजन्य कार्य देखिएकाले प्रहरी प्रशासनले पनि यस विषयमा छिट्टै जानकारी पाउने उनले उल्लेख गरे । सञ्चारमाध्यममा सुनारबारे विभिन्न कुरा आइरहेको र ती सबैको अनुसन्धान गरिने उनले बताए । यो ठीक र त्यो बेठीक भन्न सकिने अवस्था अहिले नरहेको उनको भनाइ छ ।







