२७ असोज, काठमाडौं । भारतले लद्दाखका २८ स्थानको मानक नाम घोषणा गरेको विषयमा चीनले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतको उक्त कदम अवैध र अमान्य रहेको बताएकी छिन् ।
भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’लाई चीनले कहिल्यै मान्यता नदिएको माओ निंगको भनाइ छ । भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र तथा चीनको वास्तविक नियन्त्रणमा रहेका केही स्थानसहित २८ क्षेत्रको मानक नाम आधिकारिक नक्सामा समावेश गर्ने घोषणा गरेको थियो ।
‘भारतको यो कदम अवैध र अमान्य छ र यसले चीन–भारत सीमाको पश्चिमी क्षेत्रका ती भूभाग सधैँ चीनकै हुन् भन्ने तथ्यलाई बदल्न सक्दैन ।’
सोही कदमबारे सोधिएको प्रश्नको जवाफ दिँदै माओ निंगले उक्त कुरा बताएकी हुन् ।
भारतको प्रतिक्रिया
चीनको आपत्तिपछि भारतको विदेश मन्त्रालयले पनि जवाफ दिएको छ । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग भएको बताएका छन् ।
प्रेस वक्तव्यमार्फत जयसवालले भनेका छन्, ‘लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग हो । चीनले जति अस्वीकार गरे पनि यो स्थापित तथ्यलाई बदल्न सकिँदैन ।’
भारत सरकारले अक्टोबर २ मा लद्दाखका २८ रणनीतिक तथा भौगोलिक स्थानको आधिकारिक नाम तय गरेको थियो । सर्भे अफ इन्डियाको आधिकारिक नक्सामा ती स्थानको सही पहिचान गर्न र जनमानसमा स्पष्टता ल्याउन यो कदम चालिएको भारतको स्पष्टीकरण छ ।







