काठमाडौं । नेपाल रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ ठमेलले १० भदौको भोटेकोशी बाढीबाट प्रभावित रसुवाका परिवारलाई ५ लाख ५१ हजार रुपैयाँ नगद तथा खाद्यान्न सहयोग गरेको छ ।
सोमबार साँझ भएको हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष रुपेश गुरुङले रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ की कार्यवाहक अध्यक्ष किप्पा नगरकोटीलाई उक्त सहयोग बुझाएका हुन् ।
बाढीबाट विस्थापित भएका रसुवाका बासिन्दा हाल काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेका छन् । गुम्बामा रसुवाका १ सय ५५ परिवारका ३ सयभन्दा बढी व्यक्ति बसोबास गरिरहेको संघले जनाएको छ ।
के-के सामग्री सहयोग ?
बाढीपीडितका लागि नगदसँगै दैनिक उपभोग्य खाद्यान्न तथा अन्य सामग्री पनि उपलब्ध गराइएको छ ।
१२ बोरा चामल
तीन बोरा दाल
एक बोरा च्युरा
३० कार्टुन चाउचाउ
महिलाका लागि स्यानिटरी प्याड
रसुवा तथा नुवाकोटका बाढीपीडितका लागि उक्त सामग्री र नगद सहयोग गरिएको संयोजक प्रकाश श्रेष्ठ ‘टाइगर’ले जानकारी दिए ।
बाढीका कारण आफ्नो घरबार, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा क्षति पुगेका परिवारलाई लक्षित गरी सहयोग गरिएको संघ अध्यक्ष गुरुङले बताए । विपद्का कारण समस्यामा परेकालाई तत्काल राहत दिई दैनिक जीवन सहज बनाउने उद्देश्य संघको रहेको उनको भनाइ छ ।
प्राकृतिक विपद्को समयमा प्रभावितको सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै संघले यो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।







