मुख्य सामग्रीमा जानुहोस्

साउदीका प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धका उजुरी विशेष निगरानीमा, समितिले झिकायो कागजात

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध परेका दुई उजुरीमा सात मुख्य आरोप छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग गोप्य छलफल गरेपछि सम्बन्धित निकायबाट कागजात झिकाएर तथ्य जाँच सुरु गरेको हो ।

विश्वपत्र संवाददाता

· ५ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
साउदीका प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धका उजुरी विशेष निगरानीमा, समितिले झिकायो कागजात
Online Khabar

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध परेका उजुरी विशेष निगरानीमा छन् । संसदीय सुनुवाइ समितिले उजुरीमाथि तथ्य जाँच अघि बढाउँदै सम्बन्धित निकायबाट कागजात झिकाएको छ । समितिमा प्रस्तावित राजदूत सुनारविरुद्ध दुई उजुरी परेका छन्, जसमा मुख्यतः सात आरोप लगाइएका छन् ।

  • विवाहेत्तर सम्बन्ध राखेको,

  • जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई मेलमिलाप गरी पूर्वप्रेमीसँगको सम्बन्ध तोडेपछि पनि यातना, धम्की दिएको र आत्महत्या गर्न दबाब दिएको,

  • जर्मन सरकारले हिरासतमा राखी हत्कडी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट गरेको,

  • एक जना डीआईजीको बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको,

  • सांसद खगेन्द्र सुनारले विभिन्न व्यक्तिहरूसँग पैसा उठाउने र गिरीबहादुरले त्यसको व्यवस्थापन गर्ने गरेको,

  • गिरीबहादुरलाई राजदूतमा सिफारिस गराउन स्वामी आनन्द अरुणसमेत परराष्ट्र मन्त्रालय गएको,

  • हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेको ।

  • यी उजुरी २० असोज २०८३ मा समिति सदस्यहरूलाई बुझाइएको थियो र सांसदहरूले ती अध्ययन गरिरहेका छन् ।

    दुई निकायसँग विवरण माग

    २६ असोज २०८३ मा बसेको समिति बैठकले सुनारविरुद्धका उजुरीका दुई विषयमा सम्बन्धित निकायसँग कागजात माग्ने निर्णय गरेको छ । जर्मनी गएका बेला जर्मनीले नै नेपाल फर्काइदिएको भन्ने उजुरीको यथार्थ खुलाउन परराष्ट्र मन्त्रालयसँग विवरण मागिएको छ । यसैगरी विवाहेत्तर सम्बन्ध र पछि मेलमिलाप भएको भन्ने विषयको विवरण ललितपुर जिल्ला प्रहरी कार्यालयबाट झिकाइएको छ ।

    समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार उजुरीको तथ्य केलाउने क्रममा थप कागजात अध्ययन गर्नुपर्ने भएकाले सम्बन्धित निकायबाट विवरण माग गरिएको हो । सुनार विगतमा जर्मनीबाट डिपोर्ट भए/नभएको यकिन गर्न समितिले परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग पनि विवरण मागेको छ ।

    समितिले गत सोमबार उजुरीकर्तालाई बोलाई यस विषयमा गोप्य छलफल गरेको थियो । सोही छलफलपछि कागजात झिकाएर तथ्य जाँच्ने निर्णय भएको हो । दुवै निकायबाट विवरण प्राप्त भएपछि उजुरीलाई एकै ठाउँमा राखी तथ्य केलाउने र त्यसका आधारमा संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतसँग सवालजवाफ गर्ने समिति तथा समिति सदस्यहरूको तयारी छ ।

    उजुरीमा के छ ?

    समितिमा परेको उजुरीअनुसार ओशो तपोवनमा ध्यान गर्न जाँदा तपोवनले आयोजना गरेको ऋषिकेश शिविरमा भेट भएकी महिलासँग सुनारको सम्बन्ध बनेको थियो । आफ्नी श्रीमतीसँग सम्बन्ध राम्रो नभएको भन्दै उनले ती महिलासँग निकटता बढाएको र दुवैजना प्रायः पुरानो शेर्पा मलबाहिर भेट्ने गरेको उजुरीमा दाबी गरिएको छ ।

    ती महिलाका श्रीमान् अमेरिकामा थिए । सन् २०१२ मा श्रीमान् श्रीमती लिन नेपाल आए पनि महिला र सुनारबीचको सम्बन्ध नटुटेको उल्लेख छ । अमेरिका जान खोजेकी ती महिलालाई सुनारले आफू पनि आउने र आफूलाई बोलाउन भन्दै फकाएको, आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद नगरेको तथा महिलाले अमेरिकामा छोरी जन्माएपछि छोरीको बाबुको नाम आफ्नो राख्न र श्रीमान्सँग सम्बन्धविच्छेद गर्न दबाब दिएको पनि उजुरीमा उल्लेख छ ।

    ती महिलालाई निरन्तर दबाब दिइरहने, आफूले भनेको नमाने उनका श्रीमान्लाई केही गरिदिने धम्की दिने र समुद्रमा हाम फालेर आत्महत्या गर्न दबाब दिने जस्ता विषय पनि उजुरीमा छन् । महिलाको परिवारलाई अन्तरंग तस्वीरसमेत पठाएको दाबी गरिएको छ ।

    यो प्रकरण ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेको र दुवै पक्षबीच मेलमिलाप भएको उजुरीमा भनिएको छ । सुनारले यही विषयमा दुई पटक प्रहरी कार्यालयमा माफी मागेको र मिलापत्र तथा घटनासम्बन्धी सन्देशका स्क्रिनसटसमेत समितिमा बुझाइएको छ ।

    आर्थिक आरोप र रास्वपाको धारणा

    अर्को उजुरीमा सुनार आर्थिक तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ । एक जना डीआईजीको बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको, सांसद सुनारले विभिन्न व्यक्तिसँग पैसा उठाउने र गिरीबहादुरले त्यसको व्यवस्थापन गर्ने गरेको आरोप पनि यसमै छ ।

    यसैगरी गिरीबहादुरलाई राजदूतमा सिफारिस गराउन स्वामी आनन्द अरुणसमेत परराष्ट्र मन्त्रालय गएको दाबी गर्दै उजुरीकर्ताले सम्बन्धित तस्वीर बुझाएको समिति सचिवालय स्रोतले जनाएको छ । हाम्रो नेपाल पार्टीसँग उनी आबद्ध रहेको प्रमाणका रूपमा त्यस पार्टीको तत्कालीन केन्द्रीय समितिको सूची पनि बुझाइएको छ । हाम्रो नेपाल विगतमा खगेन्द्र सुनारले नेतृत्व गरेको पार्टी हो, जसलाई उनले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसाएका थिए ।

    यी आरोपको निष्पक्ष छानबिन र तथ्यगत निराकरणबिना राजदूतजस्तो संवेदनशील संवैधानिक जिम्मेवारी दिन नहुने रास्वपाका सांसदहरूको भनाइ छ । तथ्यले गलत देखाएमा अनुमोदनका विषयमा आफूहरू गम्भीर हुने उनीहरू बताउँछन् ।

    रास्वपाका एक पदाधिकारीका अनुसार उजुरी गम्भीर प्रकृतिको छ र सम्बन्धित देशबाट एग्रिमो नै नआउने अवस्थाका कुरा पनि आएका छन् । तथ्य जाँच गरी सत्य स्थापित गर्नु संसदीय सुनुवाइ समितिको काम भएको उनको भनाइ छ । सरकारको निर्णयमा कमी–कमजोरी भई भविष्यमा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल हुने अवस्था रोक्ने दायित्व समितिको भएकाले आफ्नो जिम्मेवारीअनुसारको काम गर्ने उनले बताए । प्राप्त उजुरी जाँच्न र तथ्यका आधारमा निर्णय गर्न कुनै रोकावट नभएको पनि ती पदाधिकारीको भनाइ छ ।

    समिति सदस्यहरू पनि सम्बन्धित निकायबाट प्राप्त कागजात अध्ययन गरेर र प्रस्तावित राजदूतको जवाफ सुनेर अगाडि बढ्ने बताउँछन् । उजुरीमा उल्लेखित आरोप प्रमाणित तथ्य हुन् वा आरोप मात्र हुन् भन्ने छुट्याउने जिम्मेवारी समितिकै हुनेछ । उजुरीकर्ताले राजदूतजस्तो संवेदनशील कूटनीतिक पदका लागि प्रस्तावित व्यक्तिको व्यक्तिगत तथा व्यावसायिक पृष्ठभूमि, विगतका विवाद र आचरण जाँच्न माग गरेका छन् ।

    कानुनी व्यवस्था के छ ?

    संविधानको धारा २८२ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको प्रतिनिधित्व गर्ने राजदूत तथा कुनै विशेष प्रयोजनका लागि विशिष्ट प्रतिनिधि नियुक्त गर्न सक्ने व्यवस्था छ, र त्यस्तो नियुक्ति समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने हुन्छ । संविधानको धारा २९२ ले संसदीय सुनुवाइसम्बन्धी व्यवस्था गरेको छ, जसअनुसार राजदूत पदमा नियुक्ति हुनुपूर्व संघीय संसद्‌को संयुक्त समिति संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्छ ।

    राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि आवश्यक योग्यता र आचरणको व्यवस्था छ । दरखास्त दिने समयमा कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक, मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण, नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्विपक्षीय र बहुपक्षीय कूटनीतिको गहिरो ज्ञान र अनुभव भएको व्यक्ति राजदूत हुनसक्ने निर्देशिकामा उल्लेख छ ।

    निर्देशिकाअनुसार उम्मेदवार उच्च नैतिक चरित्र भएको र समाजमा स्वच्छ छवि बनाएको हुनुपर्छ । नियुक्ति हुने मुलुकमा उनको कुनै पनि व्यापारिक, व्यक्तिगत वा वित्तीय स्वार्थ बाझिएको हुनुहुँदैन । विदेशी मुलुकको स्थायी बसोबास अनुमति वा नागरिकता लिएको व्यक्ति पनि राजदूतका लागि योग्य मानिँदैन । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसूचीमा परेको तथा नियुक्तिका बेला कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायतामा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्ति पनि राजदूत हुन अयोग्य हुने व्यवस्था छ ।

    सुनुवाइका क्रममा जोसुकैले पनि प्रस्तावित राजदूतको आचरण, व्यक्तिगत विवाद, सम्पत्ति वा विगतका क्रियाकलापमाथि सार्वजनिक रूपमा उजुरी दिन सक्छन् । उजुरी प्रमाणित भए नियुक्ति प्रक्रिया रद्द हुनसक्छ, किनकि सरकारले सिफारिस गरेका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र नियुक्तिको प्रक्रिया अगाडि बढ्छ ।