काठमाडौं। चलचित्र निर्माणमा ठूलो लगानी गर्ने र प्रचारका लागि करोडौँ रुपैयाँ खर्चिने क्रमसँगै निर्माता आफैँले आफ्नो चलचित्रको टिकट काटेर दर्शकलाई हलमा पठाउने प्रवृत्ति बढ्दै गएको छ। यसलाई निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सिने उद्योगकै अस्तित्वमाथिको खतरा भनेका छन्।
टिकट पसलबाट समेत एक जनाले प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्दै देउजाले निःशुल्क टिकेटको अभ्यास अब काठमाडौंमा मात्र सीमित नरहेको बताएका छन्। उनका अनुसार मेचीदेखि महाकालीसम्मै दर्शकले निःशुल्क टिकेटमार्फत चलचित्र हेरिरहेका छन्, नेपालगन्ज र इलामजस्ता स्थानका हलमा पनि यही अवस्था देखिएको छ।
गम्भीर चेतावनी
यो क्रम यही रूपमा बढ्दै जाने हो भने नतिजा घातक हुने देउजाको ठहर छ। निःशुल्क टिकेटमा हेर्ने दर्शक आजको तुलनामा भोलि दोब्बर हुँदै जाने उनले बताए।
यो प्रवृत्ति यसैगरी बढ्दै गयो भने अबको एक वर्षमा सिने उद्योग नै बन्द हुन्छ। यो लेखेर राख्नु।
प्रचारको एउटा शैलीका रूपमा सुरु भएको यो अभ्यासले भने भित्रभित्रै सिनेमा क्षेत्रलाई खोक्रो बनाउँदै लगेको देउजाले औँल्याएका छन्। दर्शक आफैँ हलसम्म नपुगी टिकेट मात्र बिक्री भएको देखिने अवस्थाले चलचित्रको वास्तविक व्यापार र दर्शकको स्वाभाविक रुचिबारे भ्रम सिर्जना गर्ने उनको भनाइ छ।







