मस्जिदभित्र अनैतिक कार्य गरेको अभियोगमा दोषी ठहरिएका बंगलादेशका एक पुरुष र एक महिलालाई साउदी अरेबियाले मृत्युदण्ड दिएको छ। साउदी गृह मन्त्रालयका अनुसार मृत्युदण्ड पाउनेहरू नजरुल इस्लाम अब्दुल बसिर र सिती अख्तर हुन्।
साउदी प्रेस एजेन्सी (एसपीए)ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार मक्कास्थित मस्जिदभित्र अश्लील कार्य भएको आरोपमा सुरक्षा अधिकारीहरूले उनीहरूलाई पक्राउ गरेका थिए। त्यसपछि अनुसन्धान गरी औपचारिक आरोप लगाएर मुद्दा अदालतमा दायर गरिएको थियो।
अदालतले इस्लामिक कानुनअन्तर्गत ताजिर भनिने विवेकाधीन सजायका रूपमा दुवैलाई मृत्युदण्डको फैसला सुनाएको गृह मन्त्रालयले जनाएको छ। अपराधको गम्भीरता, मस्जिदको पवित्रतामाथिको आँच र घटनाको परिस्थितिलाई ध्यानमा राखेर अदालत यस्तो निष्कर्षमा पुगेको मन्त्रालयको भनाइ छ।
सम्बन्धित न्यायिक निकायबाट फैसला सदर भएपछि सजाय कार्यान्वयनका लागि शाही आदेश जारी भएको थियो। सोही आदेशपछि बुधबार मक्का क्षेत्रमा उनीहरूलाई मृत्युदण्ड दिइएको मन्त्रालयले जानकारी दिएको छ।
पवित्रता र सुरक्षामा जोड
गृह मन्त्रालयले मस्जिदहरूको पवित्रता जोगाउने, सुरक्षा कायम राख्ने, न्याय सुनिश्चित गर्ने र इस्लामिक कानुन लागू गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएको छ। यस्ता कार्यमा संलग्न हुनेले साउदी अरेबियाको कानुनबमोजिम सजाय भोग्नुपर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।







