नाइजेरियाको उत्तरपूर्वी भागमा पर्ने एक समुदायमा बन्दुकधारी समूहले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको ज्यान गएको देशको आपत्कालीन व्यवस्थापन निकायले जानकारी दिएको छ । आक्रमणमा परी ५२ जना घाइते भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् ।
राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकाय (नेमा) का ताराबा राज्य प्रमुख लादान अयुबाका अनुसार आक्रमण शुक्रबार ताराबा राज्यको करिम-लामिडो स्थानीय सरकार क्षेत्रभित्र पर्ने बिन्नारी समुदायमा भएको हो । 'ब्यान्डिट' भनेर चिनिने आपराधिक समूहले सो हमला गरेको बताइएको छ ।
नेमाका अधिकारीहरूका अनुसार अहिलेसम्म ५२ जनाको शव बरामद भएको छ, जसमध्ये १५ शव बेनु नदीबाट निकालिएका हुन् । तर ताराबा प्रहरीका प्रवक्ताले भने मृतकको संख्या अन्तिम नरहेको र थप शव फेला पर्ने क्रम जारी रहेको बताएका छन् ।
नदीमा खस्दा थप ज्यान गएको आशङ्का
प्रहरी प्रवक्ता भिक्टर म्सेलिजाहले आफ्ना कर्मचारी घटनास्थलमा खटिइरहेको र जति शव भेटिन्छ, त्यसलाई हिसाबमा राखिने बताएका छन् । एम्नेस्टी इन्टरनेशनल नाइजेरियाका निर्देशक इसा सानुसीका अनुसार हमलाकारीले नदीलाई आफ्नो फाइदाका रूपमा प्रयोग गरे । उनका भनाइमा मानिसहरूलाई नदीतर्फ खेदिएको थियो र आक्रमणकारीबाट बच्न उनीहरू नदीमा हामफालेका थिए ।
उत्तरी नाइजेरियामा जटिल सुरक्षा सङ्कट
उत्तरी नाइजेरियाका विभिन्न भागमा ब्यान्डिट समूहको आक्रमण नियमितजस्तै बनेको छ । यी सशस्त्र समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेका छन् ।
नाइजेरियाले भोगिरहेको सुरक्षा सङ्कट निकै जटिल रहेको बताइन्छ, जहाँ सर्वसाधारणमाथि बारम्बार आक्रमण हुने गरेका छन् । ब्यान्डिट समूहले ठूलो परिमाणमा अपहरण गरी फिरौती असुल्ने र अवैध खानी सञ्चालनमा नियन्त्रण गर्ने गरेका छन् भने बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सजस्ता इस्लामिस्ट समूह पनि सक्रिय छन् ।







