भारतको आन्ध्र प्रदेश तटमा बुधबार बिहान 'अर्नब' चक्रवात प्रवेश गरेको अधिकारीहरूले जनाएका छन्। चक्रवातको असर सुरु हुनुअघि नै तटीय जोखिमयुक्त क्षेत्रबाट दशौं हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको थियो।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार चक्रवात तट नजिकिँदै गर्दा केही कमजोर बने पनि यसको अधिकतम हावाको वेग प्रतिघण्टा १८५ किलोमिटरसम्म पुग्यो र विभिन्न तटीय जिल्लामा भारीदेखि अत्यधिक भारी वर्षा भयो। यसको प्रभावले ती क्षेत्रमा व्यापक अवरोध उत्पन्न भएको छ।
चक्रवात अझै कमजोर हुँदै जमिनभित्र सर्ने र दिनभरिमा हावाको वेग करिब ११० किलोमिटर प्रतिघण्टामा झर्ने अनुमान अधिकारीहरूले गरेका छन्। तत्काल कुनै मानवीय क्षति भएको खबर भने छैन।
भारतीय मौसम विभागका अनुसार चक्रवातको प्रभावमा आन्ध्र प्रदेशका तटीय भेग र ओडिशाका केही दक्षिणी क्षेत्रमा आगामी चार घण्टासम्म भारी वर्षा तथा तीव्र हावा जारी रहनेछ। विभागका प्रमुख मृत्युञ्जय मोहापात्राले चक्रवातको केन्द्र जमिनमा प्रवेश गरिसकेको र पूरा प्रक्रिया करिब चार घण्टा लाग्ने बताएका छन्।
मङ्गलबार रातिदेखि नै असर
अर्नब मङ्गलबार साँझ 'अत्यन्त भीषण' चक्रवाती आँधीका रूपमा शक्तिशाली बनेको थियो। बङ्गालको खाडीमा तीव्र हुँदै त्यो अपेक्षाभन्दा छिटो तटतिर अघि बढेको र मङ्गलबार रातिदेखि नै यसको बाहिरी भागले तटका केही क्षेत्रमा असर पुर्याउन थालेको अधिकारीहरूले बताएका छन्।
मङ्गलबार नै राज्यका सबै तटीय जिल्लालाई उच्च सतर्कतामा राखिएको र निचला तथा बाढीको जोखिम भएका क्षेत्रबाट मानिसलाई हटाउन थालिएको थियो। भारी वर्षा र हावाका कारण केही रेल सेवा रद्द गरिएको अधिकारीहरूले जनाएका छन्। आधिकारिक विज्ञप्तिअनुसार आन्ध्र प्रदेशमा हालसम्म कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार चक्रवातको सम्भावित मार्ग आसपास एक करोड २० लाखभन्दा बढी मानिस बसोबास गर्छन्।
आश्रयस्थल र उद्धार टोली परिचालन
जैनका अनुसार २० जिल्लामा दुई हजारभन्दा बढी चक्रवात आश्रयस्थल बनाइएका छन् भने लाखौं बासिन्दाको मोबाइलमा आपत्कालीन सन्देश पठाइएको छ। पीटीआई समाचार संस्थाका अनुसार उनले यो जानकारी दिएका हुन्। तटीय क्षेत्रमा ३० हजारभन्दा बढी माछा मार्ने डुङ्गा सुरक्षित गरिएका छन् र आपत्कालीन सहयोगका लागि करिब एक हजार १०० चिकित्सकीय टोली परिचालन गरिएको उनले बताए।
छिमेकी ओडिशामा भने अधिकारीहरूले चक्रवातबाट प्रभावित हुन सक्ने क्षेत्रबाट करिब ४८ हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनाएका छन्।







