काठमाडौं — लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माको नियुक्तिपछि उनको नागरिकताको वैधतामाथि पुनः प्रश्न उठेको छ । ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको उपाध्यक्षमा नियुक्त गरेसँगै सार्वजनिक पदमा बहाल हुने व्यक्तिको नागरिकता कुन आधारमा प्राप्त भयो भन्ने बहस सुरु भएको हो ।
उपलब्ध विवरणअनुसार डोल्माले १८ जेठ २०४६ मा कान्छाबहादुर लामालाई बुबा देखाई वंशजका आधारमा नागरिकता प्राप्त गरेकी थिइन् । ‘छोइङ डोल्मा मुक्तान लामा’ का नाममा ३१४ नम्बरको नागरिकता जारी भएको थियो भने २४ कात्तिक २०६६ मा उनले सोही नागरिकताको प्रतिलिपि समेत निकालेकी थिइन् ।
पुरानो उजुरी र रोकिएको छानबिन
२०७६ सालको पुसमा कान्छाबहादुर लामाका छोरा प्रमान सिंह लामाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा सिधै उजुरी दिएका थिए । आफ्ना बुबाको नामबाट अर्की व्यक्तिले नागरिकता लिएको भन्ने कुरा सुन्दा आफैंलाई अचम्म लागेको, उनीसँग आफ्नो कुनै नाता सम्बन्ध नरहेको र बुबाको २०३९ सालमै देहावसान भइसकेको उनले उजुरीमा उल्लेख गरेका थिए ।
सो उजुरीलाई आधार मानेर काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रहरी निरीक्षक यमलाल बन्जाडेले अनुसन्धानका क्रममा आवश्यक पर्ने जनाउँदै नागरिकताको प्रतिलिपि उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेका थिए । १३ पुस २०७६ मा दिइएको जवाफमा प्रशासनले प्रतिलिपि नागरिकताको फोटोकपी कार्यालयमा नरहेको जनाउँदै नागरिकता जारी गरिएको अभिलेख रजिस्टरको फोटोकपी पठाएको थियो । तर त्यसपछि छानबिन अगाडि बढ्न सकेन ।
काठमाडौं प्रहरीमा कार्यरत रहेका एक अधिकृतको दाबीअनुसार त्यतिबेला माथिल्लो तहबाट सो छानबिन अगाडि नबढाउन निर्देशन आएकाले प्रक्रिया अलपत्र परेको थियो ।
आत्मकथामा के छ
सन् २०११ मा पहिलो पटक प्रकाशित डोल्माको आत्मकथा ‘फूलको आँखामा’ मा उनले आफ्नो जन्म काठमाडौंको उत्तरपूर्वी बस्ती बौद्धमा भएको उल्लेख गरेकी छन् । पुस्तकअनुसार उनका बुबाआमा १९५० को दशकको मध्यतिर आफ्नो थातथलो छाडेर आएका थिए र पहिले भारत पुगेका थिए, जहाँ दुवैको भेट भएको थियो । पहिले फ्रान्सेली भाषामा लेखिएर पछि नेपालीमा अनूदित सो पुस्तकमा आएको यही पारिवारिक विवरणका कारण वंशजका आधारमा नागरिकता प्राप्तिको आधारमाथि प्रश्न उठेको हो ।
कानुनी पक्ष
वंशजका आधारमा नागरिकता पाउनका लागि बाबुआमाको नेपालमा पुस्तौंदेखि निरन्तरता हुनुपर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । आफैंले आत्मकथामा बुबाआमा तिब्बतबाट आएको लेखिसकेकाले भविष्यमा मुद्दा चल्यो भने सो लेखन ठूलो प्रमाणका रूपमा अदालतले ग्रहण गर्ने अवस्था रहने उनको भनाइ छ ।
सार्वजनिक पदमा बहाल हुने व्यक्ति पूर्ण रूपमा नागरिकता प्राप्त भएको हुनुपर्ने र उठेका प्रश्नको जवाफ पहिले सरकारले दिनुपर्ने त्रिपाठीले बताए ।
प्रशासन र प्रहरीको भनाइ
काठमाडौं प्रहरी परिसर, भद्रकालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले डोल्माको सन्दर्भमा अहिलेसम्म कुनै जाहेरी नफेला परेको बताएका छन् । यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सञ्चारमाध्यममा आएकै आधारमा अनुसन्धान गर्ने अभ्यास नहुने र अहिले आफूहरू सो विषयमा प्रवेश नगरेको प्रतिक्रिया दिएका छन् ।
डोल्मा भने नागरिकताबारे उठेका प्रश्नको सिधा जवाफ दिन तयार देखिएकी छैनन् । सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा उनले नागरिकता र सम्पत्ति शुद्धीकरणजस्ता विषयमा झुटा आरोप लगाई आफूलाई बदनाम गर्न खोजिएको प्रतिक्रिया दिएकी थिइन् । आफू चोखो रहेको र देशप्रति कुनै गद्दारी नगरेको उनको भनाइ थियो । ५५ वर्षको उमेरसम्म धेरै ख्याति कमाएको जनाउँदै संसारका जुनसुकै देशमा गएर आफूले त्यहाँको नागरिकता सजिलै लिन सक्ने अवस्था भए पनि आफू यही देशको सेवा र साधनामा रहने उनले बताएकी छन् ।
विरोध प्रदर्शन र पक्राउ
डोल्माको नियुक्ति बदरको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको थियो । मंगलबार लुम्बिनीमा पर्यटनमन्त्री खडक राज पौडेलको पुत्ला जलाइएको थियो । रुपन्देहीमा प्रहरीले सो विरोधमा संलग्न लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँ र वाजिउद्दिन मुसलमानलाई पक्राउ गरेको थियो । उनीहरूमाथि सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोप लगाइएको थियो ।
लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भावना बुझ्ने स्वच्छ छविको व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने खाँले बताउँदै आएका थिए । डोल्माको नागरिकता र विदेशबाट आएको रकमको स्रोतबारे उठेका प्रश्नमा समेत निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो ।







