मुख्य सामग्रीमा जानुहोस्

नेपालले जर्सीलाई हरायो, दोस्रो अभ्यास खेल पनि जित्यो

आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ। वर्षाले प्रभावित खेलमा नेपाल ७ रनले विजयी भएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास एकदिवसीय खेल पनि जितेको छ। बुधबार राति भएको वर्षाले प्रभावित खेलमा नेपालले डीएलएस पद्धतिअनुसार ७ रनको जित हात पारेको हो।

२८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको थियो। वर्षा हुँदा डीएलएस पार स्कोर २४४ रन रहेको थियो र नेपाल सोभन्दा ७ रनले अगाडि रह्यो।

नेपालका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे। इशान पान्डेले सर्वाधिक ९० रन बनाए। कुशल भुर्तेलले ५२ रनको योगदान दिए। भीम सार्की ३७ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ३४ रनमा नटआउट रहे। जर्सीका चार्ल्स पर्चार्डले २ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनाएको थियो। जर्सीका प्याट्रिक गजले ९५ रनको पारी खेले। ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५० र निक ग्रीनवूडले ३२ रन बनाए।

नेपालका करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिन सफल भए।

नेपालले पहिलो अभ्यास खेलमा जर्सीलाई ८१ रनले पराजित गरेको थियो। नेपाल अब नेदरल्यान्ड्समा हुने लिग २ को त्रिदेशीय शृङ्खलाका लागि प्रस्थान गर्ने छ। सो शृङ्खला जुलाई २१ देखि सुरु हुनेछ र नामिबिया पनि सहभागी हुनेछ।