चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले हिंस्रक जंगली हात्ती ध्रुवेलाई बेहोस बनाई घाँटीमा नयाँ स्याटलाइट रेडियो कलर जडान गरेका छन्। निकुञ्ज स्रोतका अनुसार असार ३१ गते राति करिब १० बजे ध्रुवेलाई डार्ट गरिएको थियो। यसक्रममा उसको ६ इन्च लामो दाह्रा पनि काटिएको छ।
निकुञ्जको सुखीभार पोस्टबाट करिब २०० मिटर पूर्वमा ध्रुवेलाई डार्ट गरिएको हो। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण र निकुञ्जका प्राविधिक कर्मचारी गरी ३० जनाको टोलीले उक्त कार्य गरेको थियो। ध्रुवे घटनास्थलनजिकै बेहोस अवस्थामा रहेको थियो।
योसहित ध्रुवेको घाँटीमा तेस्रोपटक रेडियो कलर जोडिएको हो। यसअघि जोडिएको रेडियो कलरले निकुञ्जको कोर क्षेत्रमा सिग्नल नदेखाएपछि ध्रुवेको गतिविधि निगरानी गर्न असहज भएको थियो। नयाँ स्याटलाइट प्रणालीको रेडियो कलरले कोर क्षेत्रबाट पनि सिग्नल देखाउने निकुञ्ज अधिकारीहरूको भनाइ छ।
गत असार २० गते राति भरतपुर–२३ बेलहठ्ठामा सुतिरहेका २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान ध्रुवेले लिएपछि निकुञ्जले नयाँ रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने तयारी गरेको थियो। तर ध्रुवे भागेर विभिन्न स्थानमा पुग्दा झण्डै ११ दिनपछि मात्र निकुञ्ज सफल भएको हो।
ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको छ। २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि ती आमा–छोराको ज्यान लिएको थियो। यसअघि २०६६ साल माघदेखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सालसम्म करिब तीन वर्षको अवधिमा १५ जनाको ज्यान लिइसकेको थियो। चितवनको माडी क्षेत्रमा उसको आतंक अत्यधिक थियो। २०६९ साल पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले ध्रुवेलाई मार्ने आदेश दिएको थियो। तर पछि उसलाई पक्रेर निगरानीमा राख्ने निर्णय गरिएको थियो।




