मुख्य सामग्रीमा जानुहोस्

मिटरब्याज पीडितलाई गृहमन्त्री गुरुङको आश्वासन : समस्या समाधान गर्ने प्रतिबद्धता

बुधबार साँझ निजगढमा कुरेर बसेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका छन्। उनले पीडितका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को निर्णयबाट समस्या समाधान गर्ने आश्वासन दिए। पीडितहरू वार्ताबाट ठोस समाधानको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
मिटरब्याज पीडितलाई गृहमन्त्री गुरुङको आश्वासन : समस्या समाधान गर्ने प्रतिबद्धता

गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ निजगढमा कुरेर बसेका मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्। उद्योग अनुगमन र खोला निरीक्षणमा व्यस्त भएर घण्टौँ ढिलाइ भए पनि उनले पीडितहरूसँग सघन छलफल गरे। वार्तामा उनले मन्त्रिपरिषद्को निर्णयबाट समस्याको समाधान गर्ने आश्वासन दिएका छन्।

पीडितका माग सम्बोधनका लागि सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीले बताए। यसअघि मङ्गलबार राति १० बजेसम्म चलेको पहिलो चरणको वार्तापछि बुधबार दिउँसो पुनः छलफल गर्ने सहमति भएको थियो। तर गृहमन्त्री निजगढ उद्योग वाणिज्य सङ्घको सभाहलमा वार्ताको प्रतिबद्धता जनाएर सिमरा प्रस्थान गरेका थिए। बुधबार साँझ ७ बजेसम्म पनि वार्तास्थल नपुग्दा कुरेर बसेका पीडितहरू निराश बनेका थिए।

वार्ताका लागि प्रतिक्षारत पीडित सोहन शर्माले सुरुमा दिउँसो १२ बजे र त्यसपछि अपराह्न ४ बजे आउने भनिए पनि साँझसम्म गृहमन्त्री नआइपुग्दा अन्योल बढेको बताए। ‘मिटरब्याज पीडित विरुद्ध किसान मजदुर आन्दोलन नेपाल’ का केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले जनकपुरदेखि काठमाडौंसम्मको पैदल यात्राको नेतृत्व गरिरहेका पीडितहरू वार्ताबाट ठोस सम्बोधन हुने आशामा रहेको उल्लेख गरे।

मधेश प्रदेशका नेपाल प्रहरी प्रमुख डिआईजी ओम अधिकारीका अनुसार गृहमन्त्री अन्य महत्त्वपूर्ण स्थानीय कार्यक्रमहरूमा व्यस्त भएका कारण निजगढ पुग्न ढिलाइ भएको थियो। निर्धारित वार्ताको समय पन्छाएर गृहमन्त्री गुरुङले बुधबार वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका जगदम्बा स्टिल र हुलास उद्योग लगायतका उद्योगहरूको अनुगमन गरेका थिए। अनुगमनकै क्रममा उनले सिमरा भएर बग्ने सिर्सिया खोलाको जितपुरस्थित ‘लालका पुल’ नजिकै पुगेर स्थलगत निरीक्षण समेत गरे। त्यहाँ स्थानीय बासिन्दाले औद्योगिक प्रदूषणका कारण सिर्सिया नदी अत्यधिक प्रदूषित बनेको र जनस्वास्थ्यमा गम्भीर असर परेको गुनासो गृहमन्त्री समक्ष राखेका थिए। गृहमन्त्री गुरुङले वातावरण संरक्षण र जनस्वास्थ्यको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए।

उद्योग र खोला अनुगमन सकेर निजगढ आइपुगेका गृहमन्त्री गुरुङले पीडितहरूसँग सघन वार्ता गरेको बताइएको छ। मागहरू पूरा गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने बताएपछि उनी निजगढकै ‘रुद्राक्ष होटल’ मा बसेका छन्।