बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५, डुमरवानास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्रको खेतमा रहेको कुलोमा एक युवक मृत भेटिएका छन् । स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव फेला परेको जानकारी इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले दिएका छन् ।
शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीय बासिन्दाले कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले घटनास्थलमा पुगेर शव पहिचानसहित प्रारम्भिक प्रक्रिया अघि बढाएको छ ।
शुक्रबार साँझ घरबाट निस्केका थिए
पारिवारिक स्रोतका अनुसार माझी ट्र्याक्टर चालकका रूपमा काम गर्थे र शुक्रबार साँझ घरबाट बाहिर निस्केका थिए । त्यसको भोलिपल्ट बिहान उनको शव फेला परेको हो ।
घटनास्थलमा नयाँ कपडासहितको झोला समेत भेटिएको प्रहरीले जनाएको छ । यसैगरी घटनापछि उनकी श्रीमती सम्पर्कमा नरहेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







