अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नरले सन् २०१८ को बल टेम्परिङ अर्थात् स्यान्डपेपर प्रकरणबारे उस्मान ख्वाजाले सार्वजनिक गरेको दाबीमा पूर्ण समर्थन जनाएका छन् । एनपीएल खेल्न नेपालमा रहेका वार्नरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै ख्वाजाको भनाइ शतप्रतिशत सही रहेको बताएका छन् ।
आफ्नो नयाँ पुस्तक ‘सब्र’ मा ख्वाजाले दक्षिण अफ्रिका भ्रमणका क्रममा बल रिभर्स स्विङ गराउन स्यान्डपेपर प्रयोग गर्ने योजनाबारे टेस्ट टोलीका सबै सदस्य जानकार रहेको दाबी गरेका थिए । ब्याटर, बलर र टोलीसँग जोडिएका अन्य कर्मचारीसमेत त्यसबारे जानकार रहेको उनको भनाइ थियो । वार्नरले भने आठ वर्षपछि यो विषयमा बोल्दै ख्वाजाले त्यसबेलाको सत्य बाहिर ल्याएको र आफू उनका पक्षमा उभिएको जनाएका छन् ।
अनुसन्धान प्रक्रियामाथि प्रश्न
वार्नरले स्यान्डपेपर प्रकरणको छानबिन प्रक्रियामाथि पनि असन्तुष्टि जनाएका छन् । तत्कालीन अनुसन्धान हतारमा भएको र प्रभावकारी नरहेको उनको दाबी छ । क्यामरन ब्यानक्रफ्टसँगै रहेका ख्वाजाको अन्तर्वार्तासमेत नलिइएको भन्दै उनले अनुसन्धान पूर्ण नभएको औँल्याएका छन् ।
यसलाई पुराना घाउ फेरि कोट्याउने प्रसंगका रूपमा नभई जवाफदेहिता र पारदर्शितासँग जोडिएको विषयका रूपमा लिनुपर्ने उनको भनाइ छ । सत्यलाई उचित ढंगले बाहिर ल्याउनु आवश्यक रहेको उनले बताएका छन् ।
क्रिकेट अस्ट्रेलियाको अस्वीकार
क्रिकेट अस्ट्रेलियाले भने ख्वाजाको दाबी अस्वीकार गरेको छ । अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स, मिचेल स्टार्क, जोस हेजलवुड र नाथन लियोनले संयुक्त वक्तव्य जारी गर्दै न्युल्यान्ड्समा ठूलो पर्दामा ब्यानक्रफ्टले स्यान्डपेपर प्रयोग गरेको दृश्य देखेपछि मात्र आफूहरूलाई त्यसबारे जानकारी भएको स्पष्ट पारेका छन् ।
सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा बलको अवस्था परिवर्तन गर्न स्यान्डपेपर प्रयोग गरेको घटना सार्वजनिक भएपछि तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान वार्नर र ब्यानक्रफ्टमाथि कारबाही भएको थियो । क्रिकेट अस्ट्रेलाले स्मिथ र वार्नरलाई एक वर्ष तथा ब्यानक्रफ्टलाई नौ महिनाका लागि प्रतिबन्ध लगाएको थियो ।
पूर्वप्रशिक्षक र खेलाडीको प्रतिक्रिया
अस्ट्रेलियाका पूर्व प्रशिक्षक ड्यारेन लेहम्यानले भने टोलीका सबै सदस्यलाई स्यान्डपेपर प्रयोगबारे जानकारी थियो भन्ने आफूलाई नलागेको प्रतिक्रिया दिएका छन् । बल टेम्परिङ क्रिकेटमा लामो समयदेखि हुँदै आएको भए पनि त्यसको तरिका र घटनाबारे कसलाई कति जानकारी थियो भन्ने पक्ष फरक रहेको उनको भनाइ छ ।
ब्याटर ट्राभिस हेडले अब यो प्रकरणबाट अघि बढ्नुपर्ने बताएका छन् । सन् २०१८ यताका वर्षमा टोली र क्रिकेट अस्ट्रेलियाको नेतृत्वमा धेरै परिवर्तन भइसकेको उनले उल्लेख गरेका छन् । त्यस्तै, ब्याटर निक म्याडिन्सनले पुरानो प्रकरण फेरि चर्चामा आउनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । यसले विशेषगरी स्मिथ, वार्नर र ब्यानक्रफ्टलाई कठिन समयको पुनःस्मरण गराउने उनको भनाइ छ ।







