मुख्य सामग्रीमा जानुहोस्

दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, मृतकको संख्या दुई पुग्यो

दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीमा सोमबार बिहान बिरामी बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। घटनामा परी घाइते भएका चारजनाको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, मृतकको संख्या दुई पुग्यो
Online Khabar

दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिम्खडाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उपचारका लागि सिम्खडालाई सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। त्यहाँ चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यसअघि दुर्घटनामै सान्नीत्रिवेणी–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको थियो।

प्रहरीका अनुसार कालिकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त जिपमा सान्नीत्रिवेणी–६, मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित उनका आफन्तहरू सवार थिए। दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये चालकसहित दुईजनाको मृत्यु भएको हो।

घटनामा घाइते भएका बाँकी चारजनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।