खोटाङ — दूधकोशीको जयराम क्षेत्रबाट बेपत्ता भएका ओखलढुंगाका एक युवाको खोजीमा खटिएको सशस्त्र प्रहरीको गोताखोरसहितको टोली युवा नभेटिएपछि फर्किएको छ । मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राईको खोजीका लागि परिचालित टोलीले दुई दिनसम्म दूधकोशीका सम्भावित क्षेत्रमा खोजी गरे पनि कुनै पत्ता लागेन ।
बुबा प्रकाशहरि क्याम्पा राईका अनुसार प्रख्यात कात्तिक ४ गतेदेखि सम्पर्कविहीन छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोशीस्थित जयरामबाट उनी सम्पर्कमा आउन छाडेका हुन् ।
मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन भनी उनी राति साढे ९ बजे घरबाट हिँडेका थिए । तर कार्यक्रमस्थलमा भने उनी नपुगेको स्थानीयले बताएका छन् ।
जयरामदेखि डिकुवासम्म खोजी
बेपत्ता युवाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट प्रहरी नायव निरीक्षक प्रकाश ढकालको नेतृत्वमा चार जना गोताखोरसहित नौ जनाको टोली परिचालन गरिएको थियो । उक्त टोलीले कात्तिक २१ र २२ गते जयरामदेखि दूधकोशीको सम्भावित क्षेत्रमा खोजी गरेको स्थानीय हुकुमसिंह राईले जानकारी दिए ।
सशस्त्र प्रहरीले नेपाल प्रहरी, बेपत्ता युवाको परिवार, आफन्त तथा जनप्रतिनिधिको उपस्थितिमा जयरामदेखि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवासम्म खोजी गरेको थियो ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेस हर्कपुरका प्रहरी नायव निरीक्षक रमेशकुमार बोहोराको नेतृत्वको टोलीले कात्तिक १६ गते मानेभञ्ज्याङ गाउँपालिका–६ को सोदुखोलादेखि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको चारबोटेसम्म दूधकोशी किनारमा खोजी गरेको थियो । त्यस क्रममा पनि युवा भेटिएपछि खुर्कोटबाट गोताखोरसहितको टोली झिकाइएको हो ।
दुई चरणमा भएको खोजीबीच पनि प्रख्यात हालसम्म बेपत्ता छन् ।







