सल्यानको त्रिवेणी गाउँपालिकामा व्यावसायिक बाख्रापालन किसानको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ। सहकारीमार्फत खसी बिक्रीको व्यवस्थित अभ्यासले किसानले उचित मूल्य पाउन थालेपछि उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ।
गाउँपालिकाको ‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रमअन्तर्गत पाँच सहकारीमा आबद्ध किसानहरूले आर्थिक वर्ष २०८२ र ०८३ मा मात्र दुई हजार पाँच सय ८० वटा खसी बिक्री गरेका छन्। ती खसीको कुल मूल्य चार करोड ७० लाख ९७ हजार ५८६ रुपैयाँ रहेको गाउँपालिकाको अभिलेखमा उल्लेख छ।
खसी बिक्री गर्ने ८७८ किसानमध्ये एक सय केजीभन्दा बढी खसी बिक्री गरेका ४६९ किसानले प्रोत्साहन अनुदान पाएका छन्। यस वर्ष प्रतिकिलो १२ रुपैयाँका दरले अनुदान दिइएको छ। बजेट सीमित भएकाले यसअघि दिइँदै आएको प्रतिकिलो २० रुपैयाँ अनुदान घटाएर १२ रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ। किसान र सहकारीलाई गरी करिब ९ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ।
सहकारीमार्फत बजारीकरण
त्रिवेणी गाउँपालिका पशु सेवा अधिकृत बसन्त रावतका अनुसार यस वर्ष सहकारीमार्फत ९८ हजार २३ केजी खसी बिक्री भएको छ। किसानलाई ९ लाख ३३ हजार ५ सय १६ रुपैयाँ प्रोत्साहन रकम र सहकारीलाई व्यवस्थापकीय खर्चबापत ३८ हजार ८९६ रुपैयाँ उपलब्ध गराइएको उनले बताए।
अनुदान प्राप्त गर्ने सहकारीहरूमा नमुना सामाजिक उद्यमी महिला सहकारीका ७४ किसानले एक लाख ३० हजार २३० रुपैयाँ, त्रिवेणी पशुपालन व्यवसाय सहकारीका १८१ किसानले दुई लाख ९६ हजार ८६२ रुपैयाँ, उपहार सामाजिक उद्यमी महिला सहकारीका ५९ किसानले एक लाख ९ हजार ८ रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीका १३८ किसानले तीन लाख ६७ हजार ११६ रुपैयाँ तथा त्रिवेणी साना किसान सहकारीका १७ किसानले ३० हजार ३ सय रुपैयाँ अनुदान पाएका छन्।
पशु सेवा अधिकृत रावतका अनुसार सहकारीमार्फत बजारीकरण हुँदा किसानले उचित मूल्य पाउन थालेका छन्। यसले परम्परागत रूपमा बाख्रा पाल्दै आएका किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गरेको छ।
गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले सहकारी प्रणालीले किसान र बजारबीचको दूरी घटाएको बताए। उनका अनुसार बजारको सुनिश्चितता भएपछि स्थानीय युवा तथा महिला बाख्रापालन व्यवसायमा आकर्षित भएका छन्।





