म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा विगत १० दिनदेखि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा चट्याङले क्षति पुर्याएपछि यो अवस्था सृजना भएको हो। परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाका अनुसार चट्याङले विद्युत्गृहको एलसी प्लेट जलाएको छ भने बिग्रिएका उपकरण मर्मतका लागि बुटवल पठाइएको छ।
यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरीया र मरेनी टोलका करिब ४०० घरले विद्युत् सेवा उपभोग गर्दै आएका थिए। ५० किलोवाट क्षमताको यस लघुजलविद्युत् परियोजनामा प्राकृतिक प्रकोप र चट्याङका कारण स्थानीयले हरेक वर्ष सास्ती बेहोर्दै आएका छन्। विद्युत् अभावमा रातको समयमा सम्पूर्ण वडा अन्धकार बनेको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा विद्यार्थीको पठनपाठन, घरेलु उद्योग सञ्चालन र वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ। मोबाइल तथा अन्य विद्युतीय सामग्री चार्ज गर्ने प्रबन्ध नहुँदा सञ्चार सेवा पनि प्रभावित बनेको छ। गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको भए पनि स्थानीयवासीको घरमा मिटरबक्स जडान र वायरिङ नहुँदा अहिलेसम्म केन्द्रीय विद्युतीकरण प्रयोगमा आउन सकेको छैन।

