सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा एक सात वर्षीया बालिकाको मृत्यु भएको छ । यो दुर्घटनामा परी थप पाँच जना घाइते भएका छन् ।
बुधबार साँझ करिब ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ अघि बढिरहेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, त्यसको विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर र एउटा साइकल एकै ठाउँमा ठोक्किएको प्रहरीले जनाएको छ । सोही ठक्करबाट स्कुटरमा सवार बालिका गम्भीर घाइते भएकी थिइन् ।
इनरुवा नगरपालिका–९ घर भएका सन्जु कुमार सरदारकी सात वर्षीया छोरी रिदिमा सरदार स्कुटरको पछाडि बसिरहेकी थिइन् । उनलाई उपचारका क्रममा साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक इनरुवा–७ का ३० वर्षीय सुजन चौधरी घाइते भएका छन् । त्यस्तै मोटरसाइकल चालक दुहबी–३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलमै सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकल चलाइरहेका इनरुवा–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल घाइते भएका छन् ।
घाइते पाँचै जनालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पताल पुर्याइएको छ र उनीहरूको त्यहीँ उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।







