स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । आन्दोलनबाट देश निर्माण नहुने भन्दै उनले त्यसतर्फ लाग्नुको साटो जनताका समस्या समाधानमा ध्यान दिनुपर्ने धारणा राखे ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलनको तयारी गरिरहेको चर्चाप्रति पनि टिप्पणी गरे । उनका अनुसार अहिलेको प्राथमिकता सरकार ढाल्ने राजनीतिक अभियान होइन, आम नागरिकका दैनिक समस्या समाधान गराउनु हो ।
सरकार ढाल्ने लक्ष्यसहित आन्दोलन गर्नुभन्दा सुकुमवासीलाई घर दिलाउन र बाढीपीडितको पुनःस्थापनाका लागि आवाज उठाउनुपर्ने उनको भनाइ छ । यी विषयमा दबाब सिर्जना गर्नु नै अहिलेको आवश्यकता भएको उनले बताए ।
सरकारलाई धमलाको सुझाव
देशमा सुशासन कायम गर्न, बढ्दो महँगी नियन्त्रण गर्न तथा सुकुमवासी र बाढीपीडितका समस्या समाधान गर्न उनले सरकारलाई आग्रह गरे । मूल्यवृद्धि रोक्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रभावकारी कदम चाल्नुपर्ने उनले जोड दिए ।
बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै धमलाले आगामी ६ महिनाभित्र पीडितका लागि घर निर्माण सक्नुपर्ने बताए ।







