मुख्य सामग्रीमा जानुहोस्

जुलाई २५ मा टोकियोमा एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स, विश्वभरका नेपाली पत्रकार सहभागी हुने

नेपाल पत्रकार महासंघ जापान शाखाले यही जुलाई २५ मा टोकियोमा एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६ आयोजना गर्ने भएको छ। 'प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने' नारासहित हुने सम्मेलनमा विश्वभरका नेपाली पत्रकार…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

नेपाल पत्रकार महासंघको जापान शाखाले यही जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ। महासंघका १२ वैदेशिक शाखाले सहआयोजकको भूमिका निर्वाह गर्नेछन्।

‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारा रहेको सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, १२ वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानमा रहेका पत्रकार र विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रवासी पत्रकारिताका विविध आयाममा छलफल

सम्मेलनमा प्रवासी सञ्चारमाध्यमले नेपाललाई जोड्न खेलेको भूमिका, प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध, प्रवासी नेपाली समुदाय र सञ्चारमाध्यमबीचको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव तथा प्रेस स्वतन्त्रतालगायत विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया हुनेछ। नेपाल पत्रकार महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईंले यी विषयहरू समेटिने जानकारी दिइन्।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले विश्वव्यापीकरणसँगै नेपाली समुदाय विश्वभर फैलिँदै गएको र प्रवासी पत्रकारिताको महत्व बढ्दै गएको परिप्रेक्ष्यमा सम्मेलन आयोजना गरिएको बताए। उनले विदेशमा रहेका नेपाली समुदायका गतिविधि, समस्या, सफलता र सरोकारलाई मातृभूमिसम्म पुर्याउन प्रवासी पत्रकारिता जिम्मेवार रहेको उल्लेख गरे।

सम्मेलनको महत्व र अपेक्षा

नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार विदेशमा चुनौतीपूर्ण परिस्थितिमा रहेर पनि प्रवासी पत्रकारहरूले देशप्रति जिम्मेवारी र प्रतिबद्धताका साथ पत्रकारिता गरिरहेको सन्देश सम्मेलनले दिनेछ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकाससँगै नेपालभित्र र बाहिर गरिने पत्रकारिताबीचको दूरी समाप्त हुँदै गएको बताए। उनले प्रवासी पत्रकारिताको बहुआयामिक महत्वबारे गम्भीर विमर्श आवश्यक रहेको र यस सम्मेलन सान्दर्भिक हुने उल्लेख गरे।

सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रको पनि उल्लेखनीय सहयोग रहेको छ। जापानको अग्रणी फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेशनअन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट मुख्य कार्यक्रम साझेदार (मेन इभेन्ट पार्टनर) बनेका छन् भने फ्रन्टअप ई–सिम इभेन्ट पार्टनरको रूपमा रहेको छ। आयोजकले सबै सहयोगी संस्था र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै यस्तो सहकार्यले प्रवासी पत्रकारितालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।