कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुक्रबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । यो जितपछि चितवनले ७ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा स्थान बनाएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । समान खेलबाट पराजित भएको जनकपुरसँगै कर्णाली याक्स पनि शीर्ष चारको दौडबाट बाहिरिएका छन् ।
जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमै ९२–६ को अवस्थामा भेट्टाएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभर सकिँदा ९ विकेट गुमाएर ८८ रन मात्र बनाएको थियो ।
लक्ष्य पछ्याउने क्रममा चितवनको सुरुवात निकै कमजोर रह्यो । ओपनर अर्जुन साउद दोस्रो बलमै बिना खाता आउट भए, र टोलीले ३७ रन जोड्दासम्म पाँच विकेट गुमाइसकेको थियो । त्यसपछि डाविड मालान र कुशल मल्लले ३० रनको साझेदारी गर्दै पारी सम्हाले । मालान ३९ बल खेल्दै एक छक्कासहित अविजित ३५ रनमा रहे भने मल्लले १५ रन जोडे । रवि बोपारले १३ र कमिल मिसाराले १२ रन बनाए ।
जनकपुरका लागि राहुल यादवले ३ विकेट लिए भने ललित राजवंशीले २ र विशाल सुशलिङले १ विकेट हात पारे ।
यसअघि ब्याटिङमा जनकपुरको पारी पूरै संकुचित बन्यो । ओपनर तृतराज दास दोस्रो ओभरमै ५ रन बनाएर पहिलो विकेटका रूपमा फर्किएपछि टोलीले नियमित अन्तरालमा विकेट गुमाइरह्यो । कप्तान हर्मीत सिंहले सातौं नम्बरमा ब्याटिङ गर्दै २४ बलमा दुई चौका र एक छक्कासहित २४ रन बनाएर इनिङ्स सम्हाले । विशाल सुशलिङले १३ बलमा समान एक चौका र एक छक्कासहित १५ रन जोडे ।
अन्य ब्याटरमा सन्तोष कार्कीले १०, रायन बर्लले ६, अभिषेक तिवारीले ४ र आदित्य महतले २५ बल खेल्दै ४ रन मात्र बनाए । हेरी टेक्टर भने बिना खाता आउट भए । राहुल यादवले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १० रन जोडे, जबकि ललित राजवंशी २ रनमा अविजित रहे । पाँचौं विकेटका लागि सुशलिङ र महतले गरेको १८ रनको साझेदारी जनकपुरको पारीको सबैभन्दा ठूलो साझेदारी बन्यो ।
चितवनका स्पिनरहरूले जनकपुरको मध्यक्रम र तल्लो क्रममाथि दबाब बनाए । नयाँ बलमै आक्रमण गरेका रन्जित कुमारले पहिलो स्पेलमा तीन ओभर बलिङ गर्दै एक मेडनसहित दुई रन मात्र खर्चेर ३ विकेट लिए । कप्तान सिकन्दर राजाले चार ओभरमा दुई मेडन राख्दै १० रन खर्चेर २ विकेट हात पारे । कमिल मिसाराले दुई ओभरमा १८ रन खर्चेर विशाल सुशलिङ र जिमी निशमको विकेट लिए । यस सिजन लय गुमाएका निशमले आठ बल खेल्दा खाता समेत खोल्न सकेनन् ।
चितवनका मध्यम गतिका बलरतर्फ कमल सिंह ऐरीले चार ओभरमा २५ र रिजन ढकालले तीन ओभरमा १० रन खर्चे, दुवैको संयुक्त जम्मामा एक विकेट मात्र निस्कियो ।
प्लेअफको समीकरण
६ खेलमा तेस्रो जित निकालेको चितवनले लिगको अन्तिम खेल आइतबार कर्णाली याक्सविरुद्ध खेल्नेछ । त्यसअघि शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा चितवनले कर्णालीलाई नभेट्दै प्लेअफ स्थान पक्का गरिसक्नेछ । विराटनगर विजयी भएको अवस्थामा भने चितवनले अन्तिम खेलमा कर्णालीलाई हराउनैपर्ने हुन्छ ।
जनकपुरले लिगका सातै खेल खेलिसक्दा दुई जितबाट ४ अंक मात्र जोड्न सक्यो । एक खेल बाँकी रहेको कर्णालीको पनि ४ अंक छ, तर अन्तिम खेल जिते पनि कर्णाली शीर्ष चारमा पुग्न सक्ने अवस्था छैन ।







