मुख्य सामग्रीमा जानुहोस्

सबल कम्पनीको सेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जा

नेपाल राष्ट्र बैंकले नेप्सेमा सूचीकृत सबल कम्पनीको सेयर धितोमा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था लागू गरेको छ। यसअघि ७० प्रतिशतको सीमा थियो। बैंकहरूले कम्पनीको सबलता विश्लेषण गरी थप १० प्रतिशत कर्जा दिन…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सबल कम्पनीको सेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जा

नेपाल राष्ट्र बैंकले सबल कम्पनीको सेयर धितो राख्दा अब मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था लागू गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वयन गर्दै केन्द्रीय बैंकले यो निर्देशन जारी गरेको हो। यसअघि सबै कम्पनीको सेयरमा ७० प्रतिशतसम्म मात्र कर्जा पाइने व्यवस्था थियो।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले नेप्सेमा सूचीकृत कम्पनीको सबलता विश्लेषण गरी सेयर धितो कर्जाको सीमा १० प्रतिशत बिन्दुसम्म थप गर्न सक्नेछन्। धितो मूल्याङ्कन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशतसम्म कर्जा दिन सकिने प्रारम्भिक व्यवस्था छ। तर, कम्पनीको सबलता मूल्याङ्कन गरी उच्च मूल्याङ्कन हुने संस्थाको सेयरको कर्जा मूल्य अनुपात बढीमा १० प्रतिशत बिन्दुसम्म बढाउन सकिनेछ।

कम्पनीको सबलता विश्लेषण गर्दा चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा र लाभांश वितरणको अवस्था, क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए/नभएको जस्ता विषय हेरिनेछ। यस्तो कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाले प्रडक्ट पेपर बनाई आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। एकपटक कर्जा प्रवाह भइसकेपछि सोही सेयरको पुनर्मूल्याङ्कन गरी थप कर्जा सीमा कायम गर्न वा थप कर्जा भने पाइने छैन।