अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुरुष टी–२० विश्वकपको योग्यता मार्ग र प्रतियोगिताको ढाँचामा ठूलो परिवर्तन गरेको छ। एडिनबर्गमा सम्पन्न वार्षिक साधारण सभामा भएको निर्णय अनुसार नेपाल सन् २०२८ को टी–२० विश्वकपको लागि हुने १६ राष्ट्रको ग्लोबल क्वालिफायरमा सीधै प्रवेश गर्ने भएको छ।
सन् २०२६ को टी–२० विश्वकपको प्रदर्शन र आइसिसी वरियताको आधारमा १२ राष्ट्रले पहिले नै अष्ट्रेलिया र न्युजिल्यान्डमा हुने २०२८ टी–२० विश्वकपको सीधा प्रवेश पाइसकेका छन्। नेपाल सहित क्यानडा, इटाली, नामिबिया, नेदरल्यान्ड्स, ओमान, संयुक्त अरब इमिरेट्स र संयुक्त राज्य अमेरिका गरी ८ राष्ट्रलाई सोझै ग्लोबल क्वालिफायरमा स्थान दिइएको हो।
ग्लोबल क्वालिफायरमा बाँकी ८ स्थान क्षेत्रीय छनोट मार्फत भरिनेछ। अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोलीले स्थान पाउनेछन्।
नयाँ योग्यता प्रणाली
परिमार्जित प्रणाली अनुसार ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको सर्वोच्च वरियताको टोली र त्यसपछि समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने तीन टोलीले २०२८ टी–२० विश्वकपको लागि छनोट हुनेछन्। आइसिसीले यो परिवर्तनले अर्थपूर्ण खेलको सङ्ख्या बढाउने, प्रतिस्पर्धालाई सुदृढ बनाउने र नेपाल जस्ता उदीयमान क्रिकेट राष्ट्रलाई थप अवसर सिर्जना गर्ने जनाएको छ।
टी–२० विश्वकपको नयाँ ढाँचा
२० टोली सहभागी हुने टी–२० विश्वकपको ढाँचा पनि परिवर्तन गरिएको छ। अब चार समूह पाँच–पाँच टोलीको सट्टा पाँच समूह चार–चार टोलीको हुनेछ। प्रत्येक समूहको शीर्ष दुई टोलीले सुपर १० चरणमा प्रवेश पाउनेछन्। त्यसपछि समूह विजेता र एलिमिनेटर खेलको आधारमा सेमिफाइनलको निर्धारण हुनेछ।
आइसिसी बोर्डले दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने सन् २०२७ को पुरुष क्रिकेट विश्वकपको ढाँचा पनि अनुमोदन गरेको छ। १४ टोलीको सो प्रतियोगिता तीन चरणको हुनेछ, जसमा सुपर सिरिज, दुई समूह छ–छ टोली, सुपर ७ र सेमिफाइनल समावेश हुनेछ।



