४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच भएको कुराकानीको अडियो सार्वजनिक भई विवाद बढेपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् । सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत् आफैँ एक भिडियो सार्वजनिक गर्दै उक्त संवादका विषयमा आफ्नो धारणा राखेका हुन् ।
सार्वजनिक भएको सो सामग्रीमा विपक्षी दलहरूका नेताहरूबारे गरिएका टिप्पणी समेटिएको थियो । अडियोमा कांग्रेसको आधिकारिकता शेरबहादुर देउवा पक्षलाई दिनुपर्ने, एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत अझै चर्को भएर उत्रिनुपर्ने तथा आफूहरूले त्यसको फाइदा लिन सक्ने लगायतका कुराकानी सुनिएको थियो ।
यसबारे स्पष्ट पार्दै सांसद न्यौपानेले देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले एकपटकका लागि मत परिवर्तन गर्दै अत्यधिक मत दिएको उल्लेख गरेका छन् ।
जनताले दिएको यो अभूतपूर्व अवसरको सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम देखाउनुपर्ने उनको भनाइ छ । जनताको अपेक्षाअनुसार काम गरेर नतिजा घरदैलोसम्म पुर्याउन नसके आगामी निर्वाचनमा आफूहरूले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन् ।
आफ्नो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष जनताले दिएको मत र विश्वास स्थायी नभएको तथा त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्ने रहेको पनि सांसद न्यौपानेले जनाएका छन् ।







