मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण : क्रिकेट पूर्वाधार र प्रशिक्षण सहकार्य एजेन्डामा पर्ने सम्भावना

नेपालले सन् २०१४ देखि पोखरा र फाप्लामा क्रिकेट रंगशाला निर्माणका लागि भारतसमक्ष प्रस्ताव राख्दै आए पनि ठोस सम्झौता भएको छैन। पछिल्ला वर्षमा भने बेंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा टोलीको प्रशिक्षण र एम्बेसडर क्रिकेट…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण : क्रिकेट पूर्वाधार र प्रशिक्षण सहकार्य एजेन्डामा पर्ने सम्भावना
Online Khabar

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालको क्रिकेट पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणका विषयले महत्त्व पाउने सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउनेदेखि राष्ट्रिय टोली तथा उमेर समूहका खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण दिलाउनेसम्मका विषय नेपालले विगतका वर्षमा भारतसमक्ष राख्दै आएको छ।

दुई देशबीच खेलकुद सहकार्यको विषय नयाँ भने होइन। सन् २०१४ देखि नै उच्चस्तरीय बैठकहरूमा क्रिकेट पूर्वाधारको कुरा उठ्दै आएको छ, तर रंगशाला निर्माणका सम्बन्धमा कुनै ठोस द्विपक्षीय सम्झौता भने भएको छैन। पछिल्ला केही वर्षमा खेलाडी तालिमतर्फ भने केही कदम अघि बढेका छन्।

पोखरा र फाप्लाको प्रस्ताव के हो ?

सन् २०१४ जुलाई २६ मा काठमाडौंमा बसेको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा नेपालले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने विषय उठाएको थियो। बैठकपछि सार्वजनिक संयुक्त वक्तव्यमा पनि पोखराको रंगशालाबारे छलफल भएको उल्लेख गरिएको थियो। त्यसबेला निर्माणसम्बन्धी छुट्टै सम्झौता भने भएको थिएन।

लगभग नौ वर्षपछि, सन् २०२३ जुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा कैलालीको धनगढीस्थित फाप्लामा क्रिकेट रंगशाला तथा खेलग्राम बनाउन अनुदान सहयोग मागिएको थियो। भारतसमक्ष यो प्रस्ताव औपचारिक रूपमा पुगे पनि निर्माणको जिम्मेवारी भारतले लिने गरी कुनै सम्झौता भएको छैन। अर्थात् पोखरा र फाप्ला दुवै परियोजना अहिलेसम्म सहयोगको अनुरोधका रूपमा रहेका छन्, निर्माणको प्रतिबद्धताका रूपमा होइनन्।

तालिमतर्फ भने सहकार्य बढ्दै

सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा युवा मामिला तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त समझदारीले अनुभव, सीप र ज्ञानको आदानप्रदानको आधार तयार पारे पनि त्यो रंगशाला निर्माणका लागि भने गरिएको थिएन।

रंगशालामा ठोस सहमति नजुटे पनि प्रशिक्षणका हिसाबले भने नेपाली खेलाडीले भारतमा अवसर पाउँदै आएका छन्। सन् २०२४ अगस्टमा नेपाली राष्ट्रिय टोलीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सहजीकरणमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिएको थियो, जसले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा सहयोग पुर्‍याएको थियो।

यसैगरी सन् २०२५ मा भारतीय दूतावासको ‘एम्बेसडर क्रिकेट फेलोसिप’ कार्यक्रमअन्तर्गत तीन नेपाली यू–१९ खेलाडीले भोपालको एलबी शास्त्री क्रिकेट शालामा एक महिनाको तालिम पाएका थिए। यी कार्यक्रमले दुई देशबीच क्रिकेटमा सहकार्य सम्भव रहेको देखाएका छन्, तर यस्ता अवसरलाई नियमित र संस्थागत बनाउने पक्ष अझै टुंगिएको छैन।

यसपटक उठ्न सक्ने विषय

नेपाली क्रिकेटले पछिल्ला वर्षमा अन्तर्राष्ट्रियस्तरमा प्रगति गरेको छ र राष्ट्रिय टोली विश्वकपलगायत प्रतियोगितामा सहभागी हुँदै आएको छ। तैपनि अन्तर्राष्ट्रियस्तरको पूर्वाधार, खेलाडीको नियमित उच्चस्तरीय प्रशिक्षण, प्रशिक्षक उत्पादन र प्राविधिक क्षमता विकासमा चुनौती कायमै छन्।

यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको भ्रमणमा रंगशाला निर्माणका लागि भारतीय प्राविधिक तथा आर्थिक सहयोगको विषय, राष्ट्रिय टोली र उमेर समूहका खेलाडीको तालिम, प्रशिक्षक एवं प्राविधिक जनशक्तिको आदानप्रदान तथा क्रिकेट संस्थाबीच दीर्घकालीन सहकार्यका एजेन्डा उठ्न सक्ने देखिएको छ। बेंगलुरुको एकेडेमीमा हुने तालिमलाई नियमित बनाउने र फेलोसिप कार्यक्रमको दायरा बढाउने विषय पनि छलफलमा पर्न सक्छ।

एक दशकभन्दा लामो समयदेखि नेपालले विभिन्न तहमा रंगशाला निर्माणको प्रस्ताव दोहोर्‍याउँदै आए पनि द्विपक्षीय रूपमा ठोस सहकार्य हुन सकेको छैन। यसपटक पुराना प्रस्तावले मूर्तता पाउँछन् कि प्रशिक्षण र क्षमता अभिवृद्धिको सहकार्य थप विस्तार हुन्छ, त्यसैलाई चासोका साथ हेरिएको छ।