मुख्य सामग्रीमा जानुहोस्

सवारी चालक अनुमतिपत्र अब २४ घण्टाभित्रै पाइने, ब्याकलग अन्त्य

लामो समयदेखि रोकिएका सवारी चालक अनुमतिपत्रको छपाइ सम्पन्न भएसँगै अब नयाँ लाइसेन्स २४ घण्टाभित्रै पाइने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले विभागबाट प्राप्त विवरणका आधारमा २४ घण्टाभित्रै छपाइ गर्ने जनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइको लामो ब्याकलग अन्त्य भएपछि अब नयाँ आवेदकले २४ घण्टाभित्रै लाइसेन्स पाउने भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी उपलब्ध गराइनेछ ।

ब्याकलग अन्त्य, २७ लाख लाइसेन्स छपाइ सम्पन्न

मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच दुई चरणमा भएको सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा १२ कात्तिक २०८२ मा भएको सम्झौताअनुसार १२ लाख लाइसेन्स छापिएको थियो भने दोस्रो चरणमा ४ वैशाख २०८३ मा गरिएको सम्झौताअनुसार थप १५ लाख लाइसेन्स छापिएको हो । दोस्रो चरणको काम ३२ असार २०८३ मा सकिएसँगै सम्पूर्ण ब्याकलग अन्त्य भएको मन्त्रालयले जनाएको छ ।

हाल सुरक्षण मुद्रण केन्द्रले दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त हुने करिब ३ देखि ५ हजार विवरणका आधारमा २४ घण्टाभित्र नै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिरहेको छ । यसले नयाँ लाइसेन्स वितरण प्रक्रियालाई छिटो र व्यवस्थित बनाएको छ ।

स्वदेशमै सुरक्षण मुद्रण: बचत र रोजगारी

सुरक्षण मुद्रण केन्द्रमार्फत अब सातै प्रदेश सरकार तथा यातायात मन्त्रालयसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ । साथै, नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्रलगायत अन्य सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

यी सामग्री स्वदेशमै उत्पादन हुन थालेपछि विदेशिने करोडौँ रुपैयाँ बचत हुने, स्वदेशभित्रै पुँजी परिचालन हुने र रोजगारी सिर्जना हुने मन्त्रालयको भनाइ छ । यसले गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।