मुख्य सामग्रीमा जानुहोस्

तीन महिनामा विपद्का ३२९६ घटना, १६० जनाको मृत्यु

पछिल्लो तीन महिनामा नेपालमा विपद्का ३२९६ घटना भएका छन्, जसमा १६० जनाको मृत्यु भएको छ। आगलागी, सर्पदंश र हुरीबाट सबैभन्दा बढी क्षति भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
तीन महिनामा विपद्का ३२९६ घटना, १६० जनाको मृत्यु

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ देखि असार ३२ गतेसम्मको तीन महिनामा देशभर विपद्का तीन हजार दुई सय ९६ घटना भएको जनाएको छ।

ती घटनामा १६० जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता र ९४५ जना घाइते भएका छन्। यस अवधिमा चार हजार तीन सय ७५ परिवार प्रभावित भएका छन्।

बढी क्षति हुने विपद्

प्राधिकरणका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। ८९७ आगलागीमा १७ जनाको मृत्यु, १०९ जना घाइते र ९९० परिवार प्रभावित भए। सर्पदंशका ५१४ घटनामा ३८ जनाको मृत्यु र ४७९ जना घाइते भएका छन्, जसले ५१७ परिवारलाई असर गरेको छ।

हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते र एक हजार तीन सय ५६ परिवार प्रभावित भए। पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३५१ परिवार प्रभावित छन्। चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्।

वन्यजन्तु र बाढी

वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते र २८७ परिवार प्रभावित भए। बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई बेपत्ता, नौ घाइते र ३९६ परिवार प्रभावित छन्। भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक घाइते र १३२ परिवार प्रभावित भए।

लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन्। ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ। वन डढेलोका १९१ घटनामा एक जनाको मृत्यु र दुई घाइते भए। हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक घाइते भएको प्राधिकरणले जनाएको छ।