काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, ढुङ्गा खस्ने तथा हिलो जमेर यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ । मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ माथिबाट पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । प्रहरीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो ।
बीपी राजमार्ग र अन्य सडक प्रभावित
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन रोक लगाइएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकको वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
अन्य सडक अवरुद्ध, खुलाउने प्रयास जारी
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । सडक विभागलगायत निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको प्रहरीले बताएको छ ।

