मुख्य सामग्रीमा जानुहोस्

सरकार र मिटरब्याजपीडितबीच पहिलो वार्ता सकारात्मक, भोलि निर्णायक छलफल हुने

सरकार र मिटरब्याजविरुद्ध आन्दोलनरत पक्षबीच सिंहदरबारमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ। वार्ता सकारात्मक रहेको र भोलि निर्णायक छलफल हुने आन्दोलनकारी पक्षले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सरकार र मिटरब्याजपीडितबीच पहिलो वार्ता सकारात्मक, भोलि निर्णायक छलफल हुने

जनकपुरधाम । मिटरब्याजविरुद्ध आन्दोलनरत पक्ष र सरकारबीच सिंहदरबारमा पहिलो चरणको औपचारिक वार्ता सम्पन्न भएको छ। दुवै पक्षले वार्तालाई सकारात्मक भएको बताएका छन्। सहमतिका लागि भोलि दोस्रो चरणको निर्णायक बैठक बस्ने भएको छ।

वार्तामा सहभागी मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनको केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरेले नेपाल प्रेससँग कुरा गर्दै सरकारले आन्दोलनकारीका मागप्रति सकारात्मक दृष्टिकोण देखाएको बताइन्। उनका अनुसार बुधबारको छलफल प्रारम्भिक चरणको भएकाले मागहरूबारे विस्तृत रूपमा भोलिको बैठकमा छलफल हुनेछ। दुवै पक्ष सहमतिमा पुग्ने प्रयासमा रहेको उनले जानकारी दिइन्।

यसअघि बाराको निजगढमा पैदल मार्चमा रहेका आन्दोलनकारीसँग गृहमन्त्री सुदन गुरुङले प्रत्यक्ष वार्ता गरेका थिए। त्यहाँ सहमति हुन नसकेपछि दुवै पक्षलाई औपचारिक वार्ताका लागि सिंहदरबार बोलाइएको हो। सिंहदरबारमा भएको वार्तामा सरकारका प्रतिनिधि र मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनका प्रतिनिधिहरू सहभागी थिए।

आन्दोलनकारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने स्पष्ट पारेका छन्। उनीहरूले भोलिको वार्ताबाट ठोस सहमति हुने अपेक्षा व्यक्त गरेका छन्।