त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी, विमानस्थल व्यवस्थापन र कार्गो व्यवसायीबीचको असमझदारीले अन्तर्राष्ट्रिय निर्यात व्यापार बुधबारदेखि नै ठप्प भएको छ । सरोकारवालाहरूबीच बिहीबार विहान ११ बजेदेखि ४ बजेसम्म भएको वार्तामा सहमति भए पनि त्यो कार्यान्वयन हुन नसकेपछि निर्यातले निरन्तरता पाउन सकेको छैन ।
व्यवसायीहरूले समस्या समाधान नभएसम्म शुक्रबार (आज) पनि निर्यात नगर्ने अडान लिएका छन् । नेपाल फ्रेट फरवार्डरस एशोसिएसनका अध्यक्ष राजेन्द्र संग्रौलाका अनुसार प्रहरीले माथिको आदेश खोज्दै सहमति कार्यान्वयनमा आनाकानी गरेकाले निकासी रोकिएको हो । उनले भने, ‘बेलुकी सहमति भएकोमा कार्यान्वयन गर्ने समयमा प्रहरीले माथिको आदेश चाहिने भन्दै अवरोध गरेको थियो ।’
विवादको जड
प्रहरीले विमानस्थलको जाँच कक्षमा देखाएको सक्रियता र भन्सार तथा कार्गो व्यवसायीमाथि गरेको नियन्त्रणले यो विवाद निम्तिएको हो । विशेषगरी, एक्स–रे मेशिनबाट सामान जाँच गरिसकेपछि कार्गोका कर्मचारीहरू गोदाममा गएर प्याकिङ, लेबलिङ र मार्किङ गर्न पाउने कि नपाउने भन्ने विषय विवादको मूल जरो रहेको भन्सारका कर्मचारीहरू बताउँछन् । प्रहरीले भन्सार कर्मचारीले गरेको काममा अविश्वास गर्दै अनावश्यक शंका गरेको उनीहरूको गुनासो छ ।
केही दिनअघि एक कार्गो सञ्चालकले प्याक गरेको मालवस्तु एक्स–रे मेशिनमा राखेर जाँच गर्ने क्रममा प्रहरीले केही जडिबुटीसहितका वस्तुमा प्रश्न उठाएको थियो । सुरक्षा कमजोर भएको भन्दै प्रहरीले कार्गोका कर्मचारीलाई निश्चित गन्तव्यमा जान रोक लगाएको थियो । प्रहरी स्रोतका अनुसार सुनलगायत अवैध मालवस्तु भित्रने डरले कामदारको आवतजावतमा कडाइ गरिएको हो ।
प्रहरी र भन्सारबीच तालमेलको अभाव
भन्सार कर्मचारीले निकासी भइरहेको जडिबुटी आदिको अनुमति दिएकोमा प्रहरीले रोक लगाएको व्यवसायीहरू बताउँछन् । प्रहरीले भने सुरक्षाका दृष्टिले हातहतियार र प्रतिबन्धित वस्तुबाहेक आफूहरूको संलग्नता नरहेको दाबी गरेको छ । विमानस्थल सुरक्षामा खटिएका प्रमुख (एसएसपी) बसन्त रजौरेले भने, ‘विमानस्थल व्यवस्थापनले मिलाउने काममा प्रहरी संलग्न छैन । के कसरी काम गर्ने त्यो विमानस्थल व्यवस्थापनको विषय हो ।’ तर, व्यवसायीहरूले प्रहरीले क्षेत्राधिकार मिचेर हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
भन्सारको आफ्नै एक्स–रे मेशिन नभएकाले प्रहरीकै सहयोगमा जाँच गर्नुपर्ने बाध्यता रहेको एक अधिकृतले बताए । भन्सारभित्र थप कर्मचारी र एक्स–रे मेशिन आवश्यक रहेको उनले उल्लेख गरे ।
वार्ता र सहमति, तर कार्यान्वयनमा समस्या
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द प्रसाद शर्मा करिब एक महिनाअघि विमानस्थलको सबै विषय हेर्न खटाइएका थिए । उनकै उपस्थितिमा भन्सार प्रशासन, प्रहरी, सिभिल एभिएसन र कार्गो व्यवसायीका प्रतिनिधिहरूबीच सहमति भएको थियो । ती सहमति कार्यान्वयन नहुँदा निकासी व्यापार यसपटक तेस्रो दिन पनि रोकिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले आपसमा केही विषयमा असमझदारी रहेको स्वीकार गर्दै समस्या छिट्टै समाधान हुने दाबी गरे । उनले भने, ‘प्रहरी केही कुरामा प्रष्ट गर्न चाहन्छ । त्यो कुरा शुक्रबार (आज) क्लियर हुन्छ ।’ तर, वार्तामा भएको सहमति भने हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
दुई दिनमा मुलुकबाहिर पठाउने तयारीमा रहेको डेढ सय टनभन्दा बढी मालवस्तु विमानस्थलमा रोकिएको छ । ती सामानमा गलैंचा, गार्मेन्ट, ह्यान्डीक्राफ्ट, तरकारी र जडिबुटीजस्ता वस्तु समावेश छन् । व्यवसायीहरूका अनुसार बुधबार र बिहीबार राति जहाज रित्तै उडेको तर निकासी हुन नसकेको हो ।






