बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन्। ती घटनामा १६० जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा दुई जना बेपत्ता र ९४५ जना घाइते भएका छन् भने चार हजार ३७५ परिवार प्रभावित भएका छन्।
आगलागी र सर्पदंशका घटना
सबैभन्दा बढी आगलागीका ८९७ घटना भएका छन्। तिनमा १७ जनाको मृत्यु, १०९ जना घाइते र ९९० परिवार प्रभावित भएका छन्। सर्पदंशका ५१४ घटनामा ३८ जनाको मृत्यु, ४७९ जना घाइते र ५१७ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।
हुरी, पहिरो र चट्याङ
हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते र एक हजार ३५६ परिवार प्रभावित भएका छन्। पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३५१ परिवार प्रभावित परेका छन्। चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्।
वन्यजन्तु आक्रमण, बाढी र भारी वर्षा
वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते र २८७ परिवार प्रभावित भएका छन्। बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते र ३९६ परिवार प्रभावित भएका छन्। भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते र १३२ परिवार प्रभावित भएका छन्।
लेक लाग्ने, ढुङ्गा खस्ने, वन डढेलो र हिउँपहिरो
लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अस्वस्थ छन्। ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ। वन डढेलोका १९१ घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

