काठमाडौं उपत्यकाका अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन। बिहीबार मध्याह्नको वर्षापछि माइतीघर, न्यूप्लाजा र सिंहदरबार आसपासको क्षेत्र जलमग्न भएको थियो। पानी जमेपछि सवारी आवागमन ठप्प हुँदा यात्रुहरूले लामो समय ट्राफिक अवरोधको सास्ती व्यहोर्नुपरेको छ।
पुरानो ढल प्रणाली नै समस्याको जड
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईका अनुसार माइतीघर क्षेत्र ओरालोमा पर्ने भएकाले बगेर आएको पानी सोही स्थानमा जम्मा हुन्छ। यद्यपि त्यहाँको ढल टुकुचा खोलातर्फ निकास हुने गरेको छ, तर वर्षाको समयमा टुकुचामा पानीको सतह बढ्दा ढलको पानी सहज रूपमा बग्न पाउँदैन। राई भन्छन्, 'मुख्य समस्या ढल निकास प्रणालीमै छ। पुराना पाइप साना छन्।'
उक्त क्षेत्रका अधिकांश ढल पाइप पुराना, साँघुरा र तिनको क्षमता वर्षामा परेको पानीको बहाव धान्न पर्याप्त छैन। एकीकृत ढल व्यवस्थापन सुधारको लागि छलफल भए पनि विस्तृत योजना कार्यान्वयन हुन सकेको छैन।
सहरीकरण र खोला साँघुरिँदा समस्या बढ्दो
तीव्र सहरीकरण, वर्षाको पानी छुट्टै निकास गर्ने प्रणालीको अभाव, पुराना ढलको सीमित क्षमता तथा नदी–खोलाको प्राकृतिक बहाव साँघुरिँदै जानु राजधानीमा डुबानको समस्या बढ्नुका प्रमुख कारण हुन्। यसरी बर्सेनि दोहोरिने समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

