मुख्य सामग्रीमा जानुहोस्

मिटरब्याजपीडितको ९ बुँदे सहमति पूरा हुने विश्वास, आन्दोलन स्थगित

९ दिनदेखि आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच ९ बुँदे सहमति भएपछि पीडित पक्षले सहमति पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ। सहमतिअनुसार मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने र विशेष कानुन बनाइने भएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
मिटरब्याजपीडितको ९ बुँदे सहमति पूरा हुने विश्वास, आन्दोलन स्थगित

काठमाडौं — मिटरब्याजपीडित पक्षले सरकारसँग भएको ९ बुँदे सहमति पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ। वार्तामा पीडिततर्फबाट सहभागी अवधेष कुशवाहले सञ्चारकर्मीसँग कुरा गर्दै सहमति कार्यान्वयन हुने विश्वास रहेको बताए। उनका अनुसार जिल्लास्तरमा अनुगमन समिति बनाउनेलगायत बुँदा छन् र अब कानुनको मस्यौदा तयार गरी मन्त्रिपरिषद्ले घोषणा गर्नेछ।

सरकार र मिटरब्याजपीडितबीच शुक्रबार ९ बुँदे सहमति भएको हो। सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने र यसको नियन्त्रणका लागि विशेष कानुन बनाउने प्रतिबद्धता जनाएको छ।

सहमतिका मुख्य बुँदा

सहमतिपत्रमा सरकारी टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेष कुशवाहले हस्ताक्षर गरे। सहमतिअनुसार मिटरब्याजलाई आर्थिक अपराधको रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलनको प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेकजस्ता लिखत स्वतः अवैध र खारेज हुनेछन्।

गृह मन्त्रालयले ३ महिनाभित्र मिटरब्याज नियन्त्रणसम्बन्धी विशेष ऐनको मस्यौदा तयार गर्नेछ। प्रस्तावित ऐनमा मिटरब्याजसम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीडितको सम्पत्ति फिर्ता गराउने तथा उचित क्षतिपूर्तिको व्यवस्था समेटिनेछ।

वडा कार्यालयमार्फत हुने ऋण लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंकिङ कारोबारको प्रमाण अनिवार्य गरिनेछ। भ्रष्टाचार वा अन्य आपराधिक लाभबाट आर्जित रकम मिटरब्याजमा लगाउनेमाथि कडा कानुनी कारबाही हुनेछ।

नयाँ कानुनमा वास्तविकभन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई साँवामा जोड्ने, ऋणीलाई भर्पाई नदिने, चर्को ब्याज असुल्ने, धम्की दिने, शारीरिक वा मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबर्जस्ती सही गराउने तथा सम्पत्ति हत्याउने कार्यलाई अपराधको रूपमा परिभाषित गरिनेछ।

मिटरब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत खोजी तथा सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत समेत छानबिन गरिने सहमति भएको छ। अदालतमा विचाराधीन मुद्दामा पीडितले न्याय पाउने गरी कानुनी अवरोध हटाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

समिति गठन र राहत

पीडितका गुनासा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा केन्द्रमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गरिनेछ। जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीडितका ३ प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी ६ महिनाभित्र सबै उजुरी फर्छ्योट गर्ने र त्यसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ।

सहमतिमा मिटरब्याजपीडित पुनः ऋणको दुष्चक्रमा नपर्ने गरी वार्षिक बजेटमार्फत आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने प्रतिबद्धता पनि समेटिएको छ।

सहमतिसँगै पीडितहरूले २५ असारदेखि सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। गत २५ असारमा धनुषाको जनकपुरस्थित तृतियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि ३२ असारमा गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार बिहीबार काठमाडौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीडित पक्षको वार्ता टोलीबीच भएको छलफलपछि ९ बुँदे सहमति जुटेको हो।