दुई दिनदेखि ठप्प त्रिभुवन विमानस्थलबाट हुने निर्यात व्यापार पुनः सञ्चालन हुने भएको छ। शुक्रबार सरोकारवाला निकायबीच भएको दुई बुँदे सहमतिपछि व्यापार खुल्ने बाटो खुलेको हो। सुरक्षाको नाममा भन्सार प्रहरीले कार्गोका कामदारलाई प्रवेशमा रोक लगाएपछि व्यापार ठप्प भएको थियो।
बिहीबार भएको वार्ताको सहमति कार्यान्वयन नहुँदा निर्यात खुल्न सकेको थिएन। शुक्रबार विमानस्थल भन्सार कार्यालय, कार्गो व्यवसायीका प्रतिनिधि तथा सुरक्षा अधिकारीबीच भएको छलफलपछि दुई बुँदे सहमति भएको हो।
सहमतिका मुख्य बुँदा
सहमतिअनुसार तत्कालका लागि पहिलेकै व्यवस्थाअनुसार मालबस्तुको मार्किङ र लेबलिङ गरिने भएको छ। प्रहरीले एक्स–रेमा सामान जाँच गरेपछि कार्गोका प्रतिनिधिलाई पुनः प्रवेश दिने विषय सबैभन्दा विवादमा थियो। अब भन्सार हाताभित्र प्रवेशका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको सिफारिसमा उपलब्ध गराइएको पासका आधारमा प्रवेश दिइने भएको छ। पास नेपाल फ्रेट फरवार्डरस एसोसिएसन, नेपाल भन्सार एजेन्ट संघ, नेपाल निर्यात परिषद्, नेपाल कुरियर संघ, अन्तर्राष्ट्रिय कुरियर संघका प्रतिनिधिलाई उपलब्ध गराइनेछ। साथै, आगामी दिनमा कार्गो व्यवस्थापनमा सुधारको योजना ल्याउने पनि सहमति भएको छ।
व्यवसायीमाथि परेको प्रभाव
नेपालमा उत्पादित गलैंचा, गार्मेन्ट, हयाण्डीक्राफ्ट, तरकारी, जडीबुटीलगायतका करोडौं मूल्यका मालवस्तु युरोप, अमेरिकालगायत मुलुकमा निकासी गर्न प्याकिङ गरेर 'एरबिल' बनिसकेको अवस्थामा निर्यात रोकिएको थियो। दुई दिनमा डेढ सय टनभन्दा बढी मालवस्तु विमानस्थलमै रोकिएको छ। विदेश पठाउन तयारी हालमा रहेको सामान लैजान नपाएपछि जहाजहरु पेसेन्जर मात्र लिएर फर्केका थिए। यस अवधिमा कार्गो व्यवसायीले लाखौं रुपैयाँ नोक्सान बेहोर्नुपरेको दाबी गरिएको छ।

