नवलपुरको कावासोती–१६ स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालले सघन उपचार कक्ष (आइसीयू), शिशु सघन उपचार कक्ष (एनआइसीयू) तथा सुविधासम्पन्न शल्यक्रिया कक्ष सुरु गरेको छ ।
यसअघि आइसीयू सेवा नहुँदा जटिल प्रकृतिका बिरामीलाई चितवन वा काठमाडौं रिफर गर्नुपर्ने बाध्यता थियो । प्रदेश सरकार र अस्पताल विकास समितिको समन्वयमा सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताए ।
अस्पताल सञ्चालक समिति अध्यक्ष बालकृष्ण घिमिरेले अब नवलपुरका बिरामीलाई जिल्ला बाहिर जान नपर्ने गरी सेवा विस्तार गरिएको बताए । उनका अनुसार राजमार्गमा हुने दुर्घटना, सर्पदंशका बिरामी, प्रसूति तथा नवजात शिशुका लागि यो सेवा लाभदायक हुनेछ । शुक्रबारदेखि औपचारिक रूपमा शल्यक्रिया कक्ष पनि सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

