संखुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा शनिबार बिहान घरायसी विवादका क्रममा एक व्यक्तिले खुकुरी प्रहार गर्दा आफ्नै श्रीमतीको ज्यान गएको छ। प्रहरीका अनुसार चैनपुर नगरपालिका–७ घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका करिब ५६ वर्षीय अमर बहादुर सार्कीले ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई बिहान साढे पाँच बजेतिर खुकुरी प्रहार गरेका हुन्।
घटनापछि आरोपित अमरबहादुर आफैं इलाका प्रहरी चौकी मङ्गलबारे पुगेका थिए। सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक मीनप्रसाद दाहालको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको र प्रारम्भिक अनुसन्धान थालेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको खुकुरीसहित अमरबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक परशुराम राईको कमाण्डमा थप प्रहरी टोली खटिएको छ। हाल आरोपितलाई इलाका प्रहरी चौकी मङ्गलबारेमा राखिएको छ।

