राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले ती जिल्लाका सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन र आवश्यक परेमा जुनसुकै बेला सवारी आवागमन बन्द गर्न अनुरोध गरेको प्राधिकरणले जनाएको छ । बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सबै सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन भनिएको छ ।
२३ जिल्लामा रात्रिकालीन सवारी रोक
जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा अतिभारी वर्षाको सम्भावना छ । त्यस्तै, हिमाली/पहाडी भूभाग र कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान छ ।
प्राधिकरणले पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा गरी २३ जिल्लामा प्रतिकार्य गर्नुपर्ने पूर्वानुमान गरेको छ ।
तीन सुरक्षा निकाय तयारी अवस्थामा
बैठकले भारीदेखि अतिभारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ । जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न सडक विभाग र अन्य निकायलाई भनिएको छ ।
पूर्वसूचना/चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलाई आग्रह गरिएको छ । आवश्यक परेमा आपतकालीन गोदामघर तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि बैठकले निर्णय गरेको छ ।

