मुख्य सामग्रीमा जानुहोस्

अति भारी वर्षाको चेतावनीपछि लमजुङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले लमजुङमा बाढी र पहिरोको जोखिम बढेको छ । प्रशासनले शनिबार अत्यन्त जरुरी सूचना जारी गर्दै नदी तटीय क्षेत्र, जोखिमयुक्त स्थान र सहरी डुबान क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बेँसीसहर–चामे…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
अति भारी वर्षाको चेतावनीपछि लमजुङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय लमजुङले आगामी दुई दिन अति भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढ्न थालेपछि प्रशासनले शनिबार अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

बाढीपहिरोले सडक क्षतिग्रस्त

शनिबार परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ शीरचौर र मनाङको नासों गाउँपालिका–१ तालडाँडामा बाढीपहिरोले सडक बगाएको थियो । सडक दिउँसो मात्रै सञ्चालनमा आएको थियो । जिल्लाका विभिन्न ग्रामीण सडकसमेत बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका छन् ।

मौसम विभागको चेतावनी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, नदी कटान र गेग्रान बहावको जोखिम उच्च रहने भएकाले नदी तथा खोलानालाको तटीय क्षेत्र, पहिरोको उच्च जोखिम भएका स्थान र सहरी क्षेत्रका डुबान प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शनिबार दिनभर जिल्लाका गाउँदेखि सहरसम्म अधिकांश स्थानमा वर्षा भएको थियो । मौसममा थप प्रतिकूलता आउन सक्ने पूर्वानुमानका बीच प्रशासनले सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित सबै निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ । सम्भावित विपद्‌बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी लिन, अनावश्यक यात्रा नगर्न तथा जोखिमयुक्त स्थानबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ ।