अमेरिकाले स्वास्थ्य सेवामा वार्षिक करिब ५.७ ट्रिलियन डलर खर्च गर्छ, जुन नेपालको वार्षिक बजेटभन्दा करिब ३ सय ५० गुणा बढी हो। प्रतिव्यक्ति स्वास्थ्य खर्च वार्षिक करिब १५ हजार डलर छ, जुन अन्य विकसित देशको औसतभन्दा झन्डै दोब्बर हो।
यति ठूलो खर्चका बाबजुद अमेरिकाको औसत आयु करिब ७८ वर्ष मात्र छ। जापान र नर्वेजस्ता देशहरूले निकै कम स्वास्थ्य खर्चमै ८२–८५ वर्षको औसत आयु हासिल गरेका छन्। यसले ठूलो स्वास्थ्य खर्चले मात्र उत्कृष्ट स्वास्थ्य परिणाम नदिने देखाउँछ।
अमेरिकी स्वास्थ्य प्रणालीका कमजोरी
विश्वकै धनी र प्राविधिक रूपमा अग्रणी देश अमेरिकाको अनुभवले स्वास्थ्य सेवा अत्यन्त महँगो हुन सक्ने संकेत गर्छ। जटिल निजी बिमा प्रणाली, महँगा औषधि, उच्च प्रशासनिक खर्च, स्वार्थ समूहको प्रभाव तथा अस्वस्थ जीवनशैलीजस्ता कारणले अमेरिकामा स्वास्थ्य सेवा महँगो, तुलनात्मक रूपमा कम प्रभावकारी र सीमित पहुँचयुक्त छ।




