पछिल्लो २४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार त्यहाँ १०७ मिलिमिटर पानी परेको हो।
त्यस्तै, सिन्धुपाल्चोकमा १०३ मिलिमिटर र पश्चिम नवलपरासीमा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिए। यी तीन स्थानमा सबैभन्दा धेरै पानी परेको हो।
बाढीको जोखिम
विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ तथा आसपासका जिल्ला भएर साना नदीले बाढीको जोखिम बढाउने विभागको अनुमान छ।
यसैगरी, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपासका साना नदीमा पनि आकस्मिक बाढीको जोखिम रहेको विभागको प्रक्षेपण छ।
विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर भने जोखिमरेखाभन्दा तल छ।

