गत आर्थिक वर्ष २०८२/८३ मा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने नेपाली, विदेशी र सार्कका पर्यटकको संख्या घटेको छ। निकुञ्जले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त वर्ष २७ हजार २५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्, जुन अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा झन्डै एक हजारले कम हो। अघिल्लो वर्ष २८ हजार ६८ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए।
निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले पर्यटक संख्या घट्नुमा दुई मुख्य कारण रहेको बताए। 'गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले पर्यटक आवागमन प्रभावित भएको हो,' उनले भने, 'पश्चिम एसियामा भइरहेको युद्धले विदेशी पर्यटकलाई प्रभाव पारेको छ।'
पर्यटक विवरण र राजस्व
गत आवमा निकुञ्ज अवलोकन गर्ने विदेशी पर्यटकको संख्या ६ हजार ९ सय १ रहेको छ, जबकि सार्क मुलुकबाट १ हजार २ सय १७ पर्यटक आएका थिए। नेपाली पर्यटकको संख्या १८ हजार ९ सय ७ रहेको निकुञ्जले जनाएको छ। पर्यटक प्रवेश शुल्कबाट गत आवमा ३ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
निकुञ्जको तथ्यांकअनुसार गत आवमा सबैभन्दा बढी पर्यटक कात्तिक महिनामा आएका थिए, जुन संख्या ४ हजार ८ सय ५१ थियो। त्यसपछि चैत महिनामा ४ हजार ७ सय ३९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। वर्षाको समयमा असार महिनामा भने मात्र २ सय ९४ पर्यटक आएका छन्।
आकर्षण र पर्यटन पूर्वाधार
बर्दिया निकुञ्ज बाघ हेर्नको लागि प्रसिद्ध मानिन्छ। पछिल्लो गणनाअनुसार निकुञ्जमा १ सय २५ बाघ रहेको छ। यस्तै, १ सय २० हात्ती र ३८ गैंडा रहेको अनुमान छ। यहाँ हात्ती, गैंडा, बाह्रसिंगा लगायत वन्यजन्तु पाइन्छन्। पर्यटन व्यवसायी रामजी थापाका अनुसार बबई उपत्यका, कर्णाली चिसापानी पुल, गोही प्रजनन केन्द्र, हात्तीसार हेर्न तथा र्याफ्टिङ, फिसिङ, जिप सफारी, जंगल वाकका लागि पर्यटक आउने गर्छन्।
अन्य राष्ट्रिय निकुञ्जमा बर्खा लागेपछि जंगल सफारी बन्द गरिए पनि बर्दिया निकुञ्जमा भने खुला नै राखिएको छ। निकुञ्जका प्रमुख अशोक रामले अहिलेसम्म वर्षाले सडक अवरोध नभएकाले जिप सफारी बन्द नगरिएको जानकारी दिए। निकुञ्जको मुख्य प्रवेशद्वार ठाकुरद्वारा हो, जहाँबाट ९९ प्रतिशत पर्यटक प्रवेश गर्छन्। रम्मापुर दोस्रो प्रवेशद्वार भए पनि त्यहाँबाट कमै पर्यटक आउने गरेका छन्। निकुञ्जबाहिर ३० भन्दा बढी साना र ठूला होटल तथा २० वटा होमस्टे सञ्चालनमा छन्। पर्यटकहरूले निकुञ्जबाहेक खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायतका स्थानहरूको पनि अवलोकन गर्ने गरेका छन्।

