जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेपछि बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्रता दिएको छ ।
कोशी ब्यारेजका ढोका खोलिने
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताए । जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भइरहेको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिए ।
यी जिल्लामा बाढीको उच्च जोखिम
विभागको अनुमानअनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ तथा आसपासका जिल्ला भएर बहने साना नदीले बाढीको जोखिम बढाउने छन् । यस्तै गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपासका साना नदीमा पनि आकस्मिक बाढीको जोखिम रहेको विभागको प्रक्षेपण छ ।
विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीको जलस्तर भने जोखिमरेखाभन्दा तल छ । तैपनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालेको छ । स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालालाई उच्च सतर्कता अपनाउन भनिएको छ । सर्वसाधारणलाई यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।

