नेपाली कांग्रेसको असन्तुष्ट पक्षले संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विपी कोइरालाको ४४औं स्मृति दिवस यही साउन ६ गते छुट्टै मनाउने निर्णय गरेको छ। काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने सो कार्यक्रमका लागि पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।
उक्त समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले दिवसको समारोह आयोजना गर्न विभिन्न उपसमितिहरु गठन गरिने जानकारी दिए। प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायत आवश्यकताअनुसार समितिहरु बनाइने उनले बताए।
कांग्रेसका केन्द्रीय निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठक १५औं महाधिवेशन तयारी सम्पर्क कार्यालयमा सम्पन्न भएको थियो।
सो समूहले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिमा धैर्यता अपनाई एकताका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ। आइतबार पत्रकार सम्मेलन गरी जारी गरिएको विज्ञप्तिमा उनीहरूले निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको फैसलापछि पनि विधिको शासन र न्यायिक स्वतन्त्रताको पालना गर्दै पार्टी एकताकै लागि पहल गरिरहेको दाबी गरेका छन्। तर मान्यता प्राप्त पक्षसँग भेटघाट, वार्ता वा संवादका विषयमा औपचारिक कुनै प्रस्ताव नराखिएको पनि स्पष्ट पारिएको छ।
पार्टी एकताका लागि नियमित महाधिवेशनका पक्षधरहरूले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्ताव अघि सारेर एकतालाई असहज बनाएको भन्ने हल्ला निराधार र भ्रामक रहेको समूहको दाबी छ। उनीहरूले पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता र लामो धैर्यता अपनाएको बताउँदै विशेष महाधिवेशनबाट आएको नेतृत्वले कुनै सार्थक पहल नगरेको आरोप लगाएका छन्।
पार्टीभित्र बलियो एकता कायम गरी नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यले नीतिगत रुपमा राष्ट्रिय बहस र छलफल गरी नयाँ कार्यदिशा तय गर्न नियमित महाधिवेशन पक्षधरले यही साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेको छ। सो भेलाको मिति, समय र स्थान ६ साउनमा हुने विपी स्मृति दिवसको कार्यक्रममार्फत सार्वजनिक गरिने नेता विश्वकर्माले जानकारी दिए।
